गान्तोक: चार दिवसीय उत्तर जिल्लाको भ्रमणको अन्तिम दिन राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज नागामा मन्त्री साम्दुप लेप्चाको उपस्थितिमा इन्सटीट्युट अफ् लेप्चा बुङथिङ र भाषा उच्च अध्ययन केन्द्रको उदघाटन गरे। यस संस्थानको परिकल्पना अध्यक्ष निम छिरिङ लेप्चाद्वारा गरिएको हो भने सिक्किम सरकारको संस्कृति विभागद्वारा धानराशि प्रदान गरिएको थियो। यसै क्रममा उनले रिङजिम नापताम ग्राम पञ्चायत यूनिटमा मन्त्री ग्रामीण प्रबन्धन विकास विभाग मन्त्री सोनम लामा, मन्त्री साम्दुप लेप्चाको उपस्थितिमा नव निर्मित ग्राम प्रशासन केन्द्रको पनि उदघाटन गरे।

आज नागा पुग्ने क्रममा मुख्यमन्त्री तामाङलाई स्थानीयहरूले भव्यरूपमा स्वागत जनाए। यस अवसरमा शिक्षा मन्त्री केएन लेप्चा, मन्त्री कर्मा लोडे भोटिया, मन्त्री भीम हाङ सुब्बा, विधायक पिन्छो नामग्याल लेप्चा, विधायक सोनम भेञ्चोङपा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सिक्किमको सम्पूर्ण लेप्चा जनजातिको तर्फबाट मुख्यमन्त्री तामाङप्रति कृतज्ञता व्यक्त गर्दै सिक्किम लेप्चा साहित्यिक संगठनका अध्यक्ष ओटी लेप्चाले सिक्किमको सम्पूर्ण लेप्चा जनजातिको लागि आजको निम्ति एक ऐतिहासिक दिन रहेको बताए। यस अवसरमा मुख्यमन्त्री तामाङले नागाका सम्पूर्ण जनतासँग भेट गर्दै उनीहरूको गुनासो र समस्या सुने भने तत्कालिन हुन सक्ने काम गरेर समस्या समाधान पनि गरे।