सिक्किमका पत्रकारहरूले गरे गोवामा देशकै पहिलो ग्रीन स्कूलको भ्रमण

n5421600681695912159883c4ad2a864a50bf1332a2ccd9c433314e3d5e904574211f41041c456315f54e5f.jpg

पाणजी: देशको पश्चिमी राज्य गोवाको पाँचदिने अध्ययन भ्रमणको एक भागको रूपमा सिक्किमे मिडिया टोलीले बिहिवार देशकै पहिलो हरित पाठशाला (ग्रीन स्कूल) श्री विट्ठल रखुमाई सरकारी प्राथमिक विद्यालय विट्ठलपुरको भ्रमण गरेको छ।

यस भ्रमणको उद्देश्य नयाँ शिक्षा नीतिको पालना, गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता र समुचित पूर्वाधार सुविधाका कारण उल्लेखनीय उच्च भर्ना दरलगायत पाठशालाका विशिष्ट विशेषताहरूमाथि गहन अध्ययन गर्नु रहेको थियो।

श्री विट्ठल रखुमाई सरकारी प्राथमिक पाठशालाको आकर्षक पूर्वाधार र आफ्ना विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने समर्पणका लागि यो पाठशाला देशमै आकर्षणको केन्द्र बनेको छ। करिब ४०० विद्यार्थी सङ्ख्या रहेको यो पाठशालामा पूर्व प्राथमिकदेखि चौथो श्रेणीसम्मका विद्यार्थीहरूको पठन-पाठन हुने गर्दछ। विद्यार्थी सङ्ख्या अधिक रहेको कारण पाठशालाले विद्यार्थीहरूलाई सेक्शनमा विभाजित गरेको छ।

एउटा सेक्शनमा ३० जना विद्यार्थीलाई समावेश गरिएको छ। यसले प्रत्येक विद्यार्थीका लागि व्यक्तिगत ध्यान र अनुकूल शिक्षा वातावरण सुनिश्चित गर्ने पाठशाला प्रबन्धन पक्षको भनाइ रहेको छ।

नमूना पाठशालाको एउटा उल्लेखनीय विशेषता भनेको यसको ऊर्जा संरक्षणमा जोड दिनु हो। पाठशाला भवनलाई सकेसम्म धेरै प्राकृतिक उज्यालो र खुल्ला हावायुक्त बनाउने ढाँचामा निर्माण गरिएको छ, जसले गर्दा केही क्षेत्र बाहेक प्राकृतिक उज्यालो र खुल्ला हावायुक्त वातावरणमा विद्यार्थीहरूले शिक्षा लिने अवसर पाएका छन्।

पाठशालामा शिक्षाका लागि आवश्यक सबै पूर्वाधारको व्यवस्था गरिएको छ। पाठशालाको सुचारू सञ्चालनका लागि १५ सदस्यीय सञ्चालन समिति गठन गरिएको छ, जसले जसले विद्यार्थी र शिक्षकहरूका लागि सम्भव भए अनुसारको सुविधा उपलब्ध गराइरहेको छ।

नयाँ केन्द्रिय शिक्षा नीतिअनुसार श्री विट्ठल रखुमाई सरकारी प्राथमिक पाठशालामा मराठी भाषालाई शिक्षणको माध्यम बनाइएको छ। यस निर्णयले विद्यार्थीहरूले आफ्नो मातृभाषामा शिक्षा प्राप्त गर्ने, राम्रो शिक्षण र संशोधित शिक्षण परिणाम हासिल गर्दै आइरहेका छन्। पाठशालाले स्थानीय भाषाको प्रयोगलाई बढावा दिएर गोवाको सांस्कृतिक सम्पदाको संरक्षण पनि गर्दै आएको छ।

६७ वर्षअघि स्थापित श्री विट्ठल रखुमाई सरकारी प्राथमिक पाठशालाले गोवाको सबैभन्दा पुरानो विद्यालयहरूमध्ये एकको गौरव हासिल गरेको छ। पाठशालाको हरित पहलले पनि पाठशालामा उच्च भर्ना दरलाई आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

हरियाली भविष्यका लागि स्व. मुख्यमन्त्री मनोहर पर्रिकरको दृष्टिकोणले गोवा राज्यमा लगभग २० वटा हरित विद्यालय स्थापना गरेको छ। गोवा सरकारको हरित विद्यालय पहलले सिक्किम जस्ता अन्य राज्यहरूलाई प्रेरित गर्न सक्छ, जसले सरकारी प्राथमिक पाठशालाहरूमा सबैभन्दा कम भर्नाको सामना गरिरहेको छ।

पाठशालामा ससाना नानीहरूलाई आकर्षण गर्न हरेक सुविधा उपलब्ध गराइएको छ, जसले गर्दा विद्यार्थीहरू अङ्ग्रेजी माध्यमको निजी पाठाशालामा भर्ना हुनको सट्टा यो पाठशालामा भर्ना हुन रुचाउँछन्। यो पाठशालामा स्थानीय विद्यार्थीदेखि लिएर बाहिरका विद्यार्थीहरूले पनि शिक्षा हासिल गरिरहेको विद्यालयका शिक्षकहरूले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement