गान्तोक: आज नामथाङ रातेपानी क्षेत्रको तुरुङ स्कूल खेल मैदानमा भव्यरूपमा भानु जयन्ती एवं स्वर्गीय टीपी खरेल स्मृति फूटबल प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न भयो। आजको कार्यक्रममा मुख्य अतिथिको रुपमा मुख्यमन्त्रीका सल्लाहकार रोहीतराज महाराज उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा क्षेत्र विधायक एवं यातायात मन्त्री सञ्जित खरेल अनि उनकी धर्मपत्नी आशा खरेल उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक सञ्जित खरेलले आदिकवि भानुभक्तले गरेका विभिन्न कार्यहरूको उल्लेख गर्दै उनको बहुमूल्य देनले गर्दा नै हामी सबैले सरल नेपाली भाषा बोल्न सक्षम भएको बताए। यसको साथै राज्यभरी उनको कार्यहरूको मूल्याङ्कन गर्दै विभिन्न ठाउँमा उनको जन्म जयन्ति मनाइरहेको पनि उल्लेख गरे। यसरीनै आफ्नो सम्बोधन अवधि नामथाङ क्षेत्रमा विभिन्न विकासीय कार्यहरू भइरहेको उनले बताए। यहाँको विद्यार्थीहरूको शिक्षास्तरलाई बढ़ाउनको निम्ति वर्तमान सरकारले कार्य गरिरहेको साथै यहाँ रहेको हरेक पाठशालाहरूमा विभिन्न पूर्धारहरू निर्माण गर्नको निम्ति सँधै आफू प्रयासरत रहेको पनि उनले बताए। आगामी दिनहरूमा यस क्षेत्रमा अझ धेरै विकास हुन सक्ने उनले आश्वासन दिए।

स्वर्गीय टीपी खरेल स्मृति फूटबल प्रतियोगिताको फाइनल खेल केजेएस चिसोपानी अनि जर्जीयन फूटबल क्लब कालेबुङमाझ भएको थियो।

यसै क्रममा मंगन जिल्लाको मंगन उच्चत्तर माध्यमिक विद्यालयमा पनि भानु जयन्ती भव्यरूपमा पालन गरिएको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रमको आयोजना मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रवारा गरिएको हो। सो कार्यक्रममा मुख्य अतिथिकोरूपमा राज्यका सडक एवम पुल विभाग मन्त्री साम्दुप लेप्चा रहेका थिए भने विशिष्ट अतिथिमा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङचुक भोटिया, जिल्लापाल डा.एबी कार्की लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। यस अवसरमा विशेष गरेर विद्यार्थीवर्गले कविता पाठन,सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए। सोही प्रकारले नाम्चीमा पनि 208 औ भानु जयन्ती भव्यरूपमा पालन गरियो। दक्षिण सिक्किम साहित्य सम्मेलन र जिल्ला प्रशासनिक केन्द्रको संयुक्त पहलमा नाम्चीस्थित अफिसर क्लबमा आयोजित यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई रहेका थिए भने क्षमता विकास बोर्डका अध्यक्ष सतिश चन्द्र राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि गणेश राईले यसकार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्यबारे विस्तृतरूपमा जानकारी गराए। आदिकवि भानुभक्त आचार्यलाई प्रेरणादायी व्यक्तित्वको रुपमा उद्धृत गर्दै गणेश राईले नेपाली साहित्यको जग भानुभक्त आचार्यले बसाल्दा उनी विश्वभर नेपाली समुदायमा एक महत्वपूर्ण साहित्यिक व्यक्तित्वका रुपमा सम्मानित रहेको अवगत गराए। उनले वर्तमान र आउने पुस्तालाई आदिकविको कार्य र नेपाली सम्पदाबाट प्रेरणा लिएर आफ्नो समुदाय र राज्यलाई विभिन्न क्षेत्रमा गौरवान्वित बनाउन आग्रह गरे। यस अवसरमा जिल्लापाल एम भरानी कुमारले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले रामायांण पाठ, सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।कविता प्रतियोगितामा न्यू सेकण्डरी विद्यालयका छात्रा सुष्मिता छेत्री प्रथम भइन भने रिकसाङ भोटिया दोस्रो र रिसिका कार्की तेस्रो स्थान ओगटन सफल भए। यसरी नै सोरेङ जिल्लामा पनि २०८औं भानु जयन्ती भव्य़रूपमा पालन गरियो।
सोरेङ स्कूलको स्वर्ण जयन्ती रङ्गशालामा आयोजित कार्यक्रममा क्षेत्र विधायक अदित्य गोले मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।
विद्यार्थीवर्गको स्वरचित कविता पाठ प्रतियोगितामा प्रथम थर्पु स्कुलकी प्रतिक्षा शर्मा र दोस्रो रोदन छेत्री बने। यसरी नै खुल्ला स्वरचित कविता प्रतियोगितामा प्रथम पासाङ छिरिङ लेप्चा र दोस्रो मदन शर्मा बने।
अन्तरविद्यालय रामायण पाठ प्रतियोगितामा थर्पु उच्चतर माध्यमिक विद्यालय पहिलो र सोरेङ उच्चतर माध्यमिक स्कूल दोस्रो बन्न सफल बन्यो। खुल्ला रामायण पाठ प्रतियोगितामा टिम्बुरबुङ ग्राम पञ्चायत एकाई प्रथम र गेलिङ बेगुणे पञ्चायत एकाई दोस्रो बनेका छन्।

आज अतिथि कलाकारको रूपमा उपस्थित चर्चित हास्य व्यंग्य कलाकार महेन्द्र बागदासले ‘मेरो नजरमा भानुभक्त’ माथि सन्देशमूलक विशेष प्रस्तुति दिएका थिए।
प्रधानाध्यापक डीएच सुब्बाद्घारा सञ्चालित कार्यक्रमलाई मुख्य अतिथि विधायक आदित्य गोले र समारोह समितिका अध्यक्ष एवं जिल्लापाल भिम ठटालले पनि भानु जयन्तीलाई पालन गर्नको उदेश्य र औचित्यमाथि प्रकाश पारे।