कालचिनीः इन्डिया गठबन्धन एकातिर अर्कोतिर राज्यमा धाँधली मामिलामा तृणमूल विरुद्ध आन्दोलन गर्न पछि नहटने कंग्रेस नेताहरूले संकेत दिएका छन्। भर्खरै मात्र बोर्ड गठन भएको कालचिनी ग्राम पञ्चायतमा २६ लाख रुपियाँको बिल काम बिना निकालिएको आरोप कंग्रेसबाट निर्वाचित पञ्चायत सदस्य पासाङ लामाले लगाएका छन्। काम नभईकन २६ लाख रुपियाँको बिल कालचिनी ग्राम पञ्चायतबाट देखाएको र यसमा पञ्चायत सचिवदेखि निर्माण सहायक अधिकारीहरू सबै मिलीभगत रहेको कंग्रेस नेता तथा पञ्चायत सदस्य पासाङ लामाले गम्भीर आरोप लगाउँदै गत एक सप्ताह अघि कालचिनी बीडीओ समक्ष नालिस गरेको थियो।
सात दिनभित्र यसको जवाफ दिने कालचिनी बीडीओले आश्वासन दिएता पनि सात दिन बितिसक्दा कुनै जवाफ नआउँदा बुधबार अपरान्ह समय पासाङ लामा लगायत राज्य महिला कंग्रेसको सभापति सुब्रत दत्ता एवम् कंग्रेस अलिपुरद्वार जिल्ला सभापति डा. शान्तानु देवनाथ एवम् अन्यान्य कंग्रेस नेतृत्वहरूको उपस्थिति रहेको थियो। उक्त सम्बन्धमा कंग्रेस महिला नेतृ सुव्रत दत्ताले जिल्लादेखि ब्लक सबै भ्रष्टाचारमा लिप्त रहेको र भ्रष्टाचार विरुद्ध कंग्रेस वृहत आन्दोलनमा ओर्लिने चेताउनी दिएका छन्। यता कालचिनी ग्राम पञ्चायतका सदस्य पासाङ लामाले बोर्ड गठन नभई ग्राम पञ्चायतले २६ लाख रुपियाँको बिल कसरी पारित गऱ्यो र काम गरेको हो भने त्यसको प्रमाण देखाउनु पर्ने र यस सम्बन्धमा हाइकोर्टसम्म पनि जाने चेताउनी दिएका छन्।