मंगन: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज लाचुङको थीचीमा छो-लुङ-ट्रूल-सम निर्माणको निम्ति आधारशिला राखे। यस संरचनाको निर्माण 80.84 करोड़ रूपियॉंको लागतमा गरिने बताइएको छ।
यस अवसरमा राज्यको संस्कृतिक विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले उपस्थित सबैलाई न्यानो स्वागत र अटुट सहयोगको लागि हार्दिक धन्यवाद व्यक्त दिए।
उनले विश्व पर्यटन दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै राज्य सरकारद्वारा सञ्चालित विभिन्न विकास कार्यको उल्लेख गरे। उनले लाचुङ र लाचेनमा प्रस्तावित छो-लुङ-ट्रूल-सम सांस्कृतिक कम्प्लेक्स विकासको कोशेढुङ्गाको रूपमा रहेको उल्लेख गरे। उनले पर्यटनको क्षेत्रमा भएका विकास कार्यहरूमाथि प्रकाश पार्दै राज्यको आर्थिक विकासमा पर्यटनको महत्वपूर्ण भूमिका रहेको बताए।
वर्तमान सरकारले विभिन्न ठाउॅंहरूमा क्षतिपूर्ति सम्बन्धी समस्यालाई सक्रियरूपमा सम्बोधन गरेको छ भनी बताए। उनले लाचुङ गुम्पामा ध्यान केन्द्र निर्माण र ढल निकासको उचित व्यवस्था, मुख्यमन्त्री मेधावी छात्रवृत्ति अन्तर्गत विद्यार्थीको कोटा उपलब्ध गराउने कामलाई उच्च प्राथमिकता दिइरहेको बताए। उनले लाचुङ जुम्साको आफ्नै स्रोत राजस्व प्राप्तिको निम्ति गरेका पहलको प्रयासको प्रशंसा पनि गरे।
उनले सरकारका विभिन्न योजना र प्रोत्साहनका बारेमा बोल्दै सबैलाई यसको लाभ उठाउन र आम मानिसहरूलाई सचेत गराउनु पर्ने आग्रह गरे।

यसै क्रममा मन्त्री साम्डुप लेप्चाले यस निर्वाचन क्षेत्रको भ्रमण गरेकोमा मुख्यमन्त्री तामाङलाई धन्यवाद दिँदै आभार प्रकट गरे। यस अवसरमा उनले सरकारले हासिल गरेका विभिन्न उपलब्धि र यसको महत्वहरूको बारेमा जानकारी गराए। उनले राज्यको विकासका निम्ति सबै एकजुट भएर अघि आउनु पर्ने आग्रह गरे।