काठमाडौं। तपाईं ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ को पर्खाइमा हुनुहुन्छ भने यो संस्करण निकै रोचक हुनेवाला छ। बुधबार नयाँ सिजनको प्रिमियर गरिएको छ जहाँ यो रियालिटी शोले उत्कृष्ट प्रतिक्रिया प्राप्त गर्यो। आइएनआइको बानेश्वर हलमा आयोजित प्रिमियरमा शोसँग सम्बन्धित सेलिव्रिटीको उपस्थिती रह्यो। हिमालय टिभी एचडीका अध्यक्ष धर्मराज भुषालदेखि कोचहरु उदय सोताङ र प्रमोद खरेल, अभिनेता निर्मल शर्मा, होस्ट सुशिल नेपाल, निर्देशक लक्ष्मण पौडेलसहित प्रिमियरमा सहभागि रहे।ब्लाइन्ड अडिसनको पहिलो एपिसोडलाई प्रिमियरमा प्रदर्शन गरियो। धरानका रिजेन लोहनीको दमदार रक प्रस्तुतिसँगै सुरु भएको एपिसोडमा अन्य ट्यालेन्टले पनि दर्शकलाई मन्त्रमुग्ध तुल्याए। नेपाल, भारत लगायतका विभिन्न स्थानबाट आएका प्रतिभाले ब्लाइन्ड अडिसनमा प्रस्तुति दिएका छन् ।ब्लाइन्ड अडिसनमा १२० प्रतिभाले प्रतिस्पर्धा गर्दैछन् जसको छायांकन सम्पन्न भैसकेको छ। निर्देशक पौडेलले ब्लाइण्ड अडिसनमा पुगेका प्रतिभालाई अदभूत भएको प्रतिक्रिया दिए। त्यसपछि ब्याटल र नकआउट राउण्डहरु प्रस्तुत हुनेछन्। प्रिमियरमा शोका प्रायोेजकदेखि संचारकर्मीको उपस्थिती थियो। पाँचौ सिजनमा राजेशपायल राई, उदय सोताङ, प्रमोद खरेल र मिलन नेवार कोचको रुपमा छन्। प्रिमियर एपिसोड हेर्दा पाँचौ सिजनको सेट, ध्वनी, प्रकाशदेखि प्राविधिक पक्षमा निकै सुधार देखिन्छ।निर्देशक पौडेलका अनुसार पाँचौं संस्करणमा ‘ब्लक्ड’ नियम थपिएको छ। एउटा कोचले अर्को कोचलाई कमजोर बनाउन र आफूलाई बलियो देखाउन यो नियम थपिएको र यसले प्रतिस्पर्धालाई रोचक बनाउने पौडेलले बताए। साथै, यसपटक नकआउट चरणमा नौ जना प्रतिस्पर्धीले सामूहिक रुपमा गायकी पस्किनेछन्।
पाँचौं सिजनको टाइटल स्पोन्सरको रुपमा डावर रेड पेस्ट रहेको छ। ‘द भ्वाइस अफ नेपाल’को सिजन ५ आगामी शुक्रबारदेखि हिमालय टिभी एचडीमा प्रसारण हुँदैछ। प्रत्येक शुक्रबार बेलुका ८ बजे शो प्रसारण हुने जनाइएको छ।