वर्तमान सरकारसँग लिम्बू-तामाङ सीटको कुनै फर्मूला छैन: एसडीएफ

IMG-20230927-WA0272

सोरेङ: लिम्बू-तामाङ सीट आरक्षणको विषयमा वर्तमान सरकारले लिम्बू-तामाङ समुदायलाई दिग्भ्रमित पारेको तथा सीट आरक्षणको सरकारसँग कुनै फर्मुला नै नरहेको एसडीएफका पश्चिम जिल्ला युवा प्रभारी रविन तामाङले आरोप लगाएका छन्। यसका साथै सिक्किमेको परिचय मात्र होइन अहिले आफ्नै घडेरी गुम्दै गएको पनि उनले थप बताएका छन्। सोरेङमा एक क्षेत्रस्तरीय सभालाई सम्बोधन गर्ने क्रममा आज उनले भने, ‘अहिले सिक्किम संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ। सिक्किम बचाउने लडाइँ लड्न आवश्यक परेकोले हामी मैदानमा छौँl’

एसडीएफका पश्चिम जिल्ला प्रभारी सतीशमोहन प्रधानको अध्यक्षतामा सम्पन्न सोरेङ निर्वाचन क्षेत्र स्तरीय जनसभामा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा दक्षिण-पश्चिम प्रचारप्रसार प्रभारी एमएन दहाल, उपाध्यक्ष एडी सुब्बा, पार्टीका प्रवक्ता तथा मजदुर फ्रण्टका उपाध्यक्ष जेबी दर्नाल, युवा प्रभारी रबीन कुमार तामाङ, गेजिङका अवकाशप्राप्त संयुक्त निर्देशक पीएल खामाद, संगठन महासचिव एसआर सुब्बा, पश्चिम जिल्ला महासचिव डीबी सुब्बा, चेली प्रकोष्ठ महासचिव श्रीमती पासाङ भोटिया, सोरेङ जिल्ला अध्यक्ष एमएस सुब्बालगायत आठ क्षेत्रका सीएलईसी अध्यक्ष, युवा संयोजक, चेली संयोजिका,  युवा उपसंयोजक, चेली उपसंयोजिका, विभिन्न पदभारमा आसिन सक्रिय कार्यकर्ता अनि एसडीएफका सदस्यहरूको कार्यक्रममा व्यापक उपस्थिति रहेको थियो। 

सभालाई सम्बोधन गर्ने क्रममा दक्षिण-पश्चिम प्रचारप्रसार प्रभारी एनएन दाहालले एसडीएफसँग मात्र सिक्किम बचाउने विचार रहेको दाबी गरे। आफ्नो सम्बोधनमा दाहालले सिक्किम बचाउनका लागि आफूहरूले परिआएको खण्डमा इन्टरनेशनल फोरमसँग गुहार लगाउने पनि घोषणा गरे। यसका साथै केन्द्रको बीजेपीप्रति कटाक्ष गर्दै बीजेपीले सिक्किमको सम्पूर्ण कानुन मिचेको पनि उनले थप आरोप लगाएका छन्। सभालाई सुप्रिम कोर्टकी अधिवक्ता जिनिता शर्माले पनि सम्बोधन गरेकी थिइन्। शर्माले आफ्नो सम्बोधनमा रीभिजिटको माध्यमबाट एसडीएफ पार्टीको सरकारले मात्र अहिलेसम्म बिग्रिएका कामहरूलाई सपार्न सक्ने दाबी गरिन्। प्रितम मुखियाको संचालन तथा कमल राईको धन्यवाद ज्ञापनमा सम्पन्न जनसभालाई सीएलसी अध्यक्ष एसआर सुब्बाले स्वागत जनाएका थिए। सभालाई चेली मोर्चा जिल्ला संयोजिका ज्ञानुमाया सुब्बा अनि पूर्णिमाया राई, युवा प्रकोष्ठको पक्षबाट ज्ञानबहादुर तामाङ अनि अर्जुन थापाले सम्बोधन गरेका थिए। यस अवधि १९ सेप्टेम्बरको दिन सम्पन्न ‘मास जोइनिङ’ कार्यक्रममा झण्डा ग्रहण गर्ने सोरेङका युवाहरूलाई जिल्ला कमिटीको पक्षबाट अभिनन्दन जनाइएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *