कालचिनीः विश्व पर्यटन दिवस सर्वत्र पालन भईरहेको क्रममा बुधबार कालचिनी खण्डको बक्सा पर्यटकीय स्थलको केन्द्रबिन्दु मानिने राजाभातखावा स्थित बक्सा ब्याघ्र प्रकल्पको प्रवेशद्वार परिसरमा गोर्खा, आदिवासी, राभा, मेच, गारो, तामाङ जनजातिको पारम्परिक गीत र नृत्यमा बक्सा पर्यटनको निम्ति आएका पर्यटकहरुलाई स्वागत जनाउँदै विश्व पर्यटन दिवस पालन गरियो।
युगान्तर परिवारको आयोजना औ पश्चिम राजाभातखावा रेञ्जको सहयोगिता एवम् बक्सा होमस्टे अनर्स एसोसिएशन लगायत आर्ट अफ लिभिङ वाईएलटीपीको व्यवस्थापनामा बुधबार विविधताको साथ विश्व पर्यटन दिवस पालन भएको आयोजक कमिटीको पक्षबाट रामकुमार लामाले जनाएका छन्।
सो अवसरमा पश्चिम राजाभातखावा रेञ्ज अधिकारी अमलेन्दु माझी, व्यावसायी समितिका अध्यक्ष दिलीप गोयन्का, समाजसेवी लालसिंह भुजेल, राजु छेत्री, शरण लामा एवम् अन्यान्यको उपस्थिति रहेको थियो। कार्यक्रममा बक्सा घुम्न आएका पर्यटकहरुलाई आदिवासी, नेपाली, राभा, गारो, असुर आदि पारम्परिक तरीकामा स्वागत गरिएको थियो भने खदा र टीका पहिराएर पर्यटक औ अतिथिहरुलाई सम्मान प्रदान गरिएको थियो। यसप्रकारको कार्यक्रमले डुवर्स घुम्न आएका पर्यटकहरुलाई डुवर्सको मिश्रित संस्कृतिबारे ज्ञान हुने साथै यहाँको प्रकृति र मानिसहरुमा निहित अनेकता र विविधततामा एकताको परिचय हुने भएकोले विश्व पर्यटन दिवसलाई बहुसांस्कृतिक मिलनको रुपमा पालन गरिएको रामकुमार लामाले जनाएका छन्।
पर्यटकहरुलाई सेलरोटी, आलुदम, पिठा रोटी आदिवासी टिकला रोटी चटनी आदि विभिन्न जातिय खानाको स्वाद पनि दिने कार्य गरिएको बताईएको छ।