सिलगढी: सिलगढीको मतिगढा अभया छात्रा हत्या काण्डलाई लिएर शर्ट फिल्म बनाएर सोशल मिडियामा अपलोड गर्ने डाइरेक्टर अनि एक्टरलाई सिलगढीको साइबर टीमले पक्राउ गरेको छ। पक्रा पर्ने दुई ब्लगरको नाम पलाश शाहा र हृद्य वर्मन बताइएको छ। उल्लेखनीय छ, गत महिना २१ अगस्तको दिन सिलगढीको मतिगढा इलाकाको एउटा झाडीबाट एकजना नाबालिक स्कूलका छात्रा अभया (परिवर्तित नाम) को लास पुलिसले उद्धार गरेको थियो। यसपछि उक्त घटनालाई लिएर विभिन्न राजनैतिक पार्टी लगायत संघ-संगठनद्वारा व्यापक विरोध भएको थियो। यसको साथै छात्रा हत्याको आरोपमा पक्रा परेका युवक एमडी अब्बासलाई चाँडै फाँसीको सजाय दिनु पर्ने अनि पिडित परिवारले न्याय पाउनु पर्ने माग उठेको थियो। हत्याको आरोपीलाई अदालतले हाल जेल हिरासतमा पठाएको छ भने सो घटनालाई लिएर अहिले सिलगढी अदालतमा सुनवाई चलिरहेको छ।
अर्कोतिर, सिलगढीका दुईजना युवक पलाश र हृद्यले मिलेर सो मतिगढा अभया छात्रा हत्या काण्डलाई लिएर एउटा शार्ट फिल्म तयार गरेपछि गत २५ सेप्टेम्बरको दिन तिनीहरूले सो शर्ट फिल्म आफ्नो सोशल मीडिया एकाउण्टमा पोस्ट गरिदिएका थिए। यसपछि सो भिडियो सोशल मीडियामा निक्कै भाइरल भयो अनि यसपछि फेरि सो घटनालाई लिएर चारैतिर सनसनी फैलियो। यसको साथै मृतक नाबालिक छात्राको परिवार पक्षले सो लघुचलचित्रको घोर विरोध जनायो।प्राप्त जानकारी अनुसार सोशल मीडिया अकाउन्टमा छात्रा हत्याकाण्डको शार्ट फिल्मको विरोधमा मृतकको परिवार पक्षले सिलगढी मेट्रोपलिटनको साइबर क्राइम थानामा एउटा लिखित अभियोग दर्ता गरेपछि साइबर क्राइमको टीमले मामिलाको जाँच गरेर छानबिन गर्दै गत राति छात्रा हत्या काण्डमाथि बनाइएको लघु चलचित्र बनाउने अनि सोशल मीडियामा पोस्ट गर्ने डाइरेक्टर र एक्टर पलास र हृद्यलाई आईटी र पोक्सो एक्ट अन्तर्गत मामिला दर्ता गरेर पक्राउ गरेपछि आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गऱ्यो। यसैगरी, यस शार्ट फिल्मलाई लिएर सिलगढीमा फेरि एकपल्ट हत्याकाण्डलाई लिएर विरोधको स्वर शुरू भएपछि साइबर क्राइम विङ्गले सोशल मीडियाबाट सो छात्रा हत्या काण्डको शार्ट फिल्म भिडियोलाई डिलिट गरिदिएको बताइएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।