खरसाङ: पर्यावरण संरक्षण र ट्राफिक सचेतनाको सन्देश लिएर साईकलमा तीनधारे खरसाङ क्षेत्रमा आईपुगे पश्चिम बंगालको पूर्व मेदनीपुरबाट सुप्रिया दास। २१ वर्षीय सुप्रिया दासले आफ्नो व्यक्तिगत रूचि, बुक अफ् एल्ड रिकर्ड साथै मानिसहरूमा पर्यावरण र ट्राफिक विषयमा सचेतना फैलाउँदै यसै वर्षको ४ जनवरीदेखि आफ्नो यात्रा शुरु गरेका थिए। उनले चारवटा देशहरू भारत, नेपाल, भूटान र बंगलादेश भ्रमण गर्ने लक्ष्य राखेर बंगालबाट आफ्नो यात्रा शुरु गरेर दक्षिण भारतसितै कश्मीरसम्म गरी भारतको २१ वटा राज्यहरू र नेपालसम्म पुगेर १४ हजार किमी तय गरेर अहिले बंगालको खरसाङ दार्जिलिङ क्षेत्रमा आएका छन्। उनी दार्जिलिङबाट सिक्किम, भूटान हुँदै उत्तर पूर्वी राज्यहरू भएर बंगलादेश पुगेर जनवरी २०२४ मा बंगालको मेदनीपुरस्थित घर पुग्ने भएको छ। यस अवसरमा बोल्दै सुप्रिया दासले मानिसहरूलाई सचेत गराउँदै गाड़ी चलाउँदा सदैव सीट बेल्ट लगाउनु पर्ने र दुई चक्के चलाउँदा सदैव हेलमेट लगाउनु पर्ने सुझाव दिएका छन्। उनले पर्यावरण संरक्षण आवश्यक रहेको बताउँदै सबैले रूख रोप्नु पर्ने अनि वर्तमान समयमा ग्लोबल वर्मिङको समस्यालाई पनि ध्यान दिनु पर्ने बताएका छन्। दासले आफु ४ जनवरी २०२३ मा साईकलमा घरबाट निस्केको र आगामी जनवरी २०२४ मा घर पुग्ने पनि बताएका छन्। उनले साईकल चलाउनु स्वास्थ्यको लागि राम्रो रहेको र फिटनेस राम्रो हुने पनि बताएका छन्।