वर्ल्ड कपअघि बलरहरूका खराब फर्मले अष्ट्रेलियाको चिन्ता बढ़ायो

IMG-20230926-WA0298.jpg

२६ सेप्टेम्बरः भारतमा ५ अक्टोबरदेखि शुरु हुने आईसीसी वनडे वर्ल्ड कप अघि बलरहरूका निराशाजनक प्रदर्शन अष्ट्रेलियाई क्रिकेट टीमको निम्ति चिन्ताको विषय बनेको छ। दक्षिण अफ्रिका विरुद्ध हालै सम्पन्न सीरीज र भारत विरुद्ध जारी सीरीजको पहिलो दुईवटा म्याचमा अष्ट्रेलियाई बलरहरूका प्रदर्शन निराशाजनक रह्यो। आइतवार इन्दौरमा खेलिएको म्याचमा भारतीय ब्याटरहरूले विपक्षी बलरहरूलाई पिट्नसम्म पिटे अनि अष्ट्रेलियाले लगातार पाँचौं वनडे म्याचमा हारको सामना गर्नु पऱ्यो। भारतले म्याचमा पहिला ब्याटिंग गर्दै ३९९ रनको विशाल स्कोर बनाएको थियो। यसअघि दक्षिण अफ्रिकाले पनि अष्ट्रेलिया विरुद्ध अन्तिम तीनवटा वनडे म्याचमा ४१६, ३३८ र ३१५ रन बनाएको थियो। यस अवधि एडम जाम्पा र क्यामरुन ग्रीनले त १-१ पल्ट म्याचमा १०० भन्दा अधिक रन खर्च गरेका छन्। भारत विरुद्ध दोस्रो वनडे म्याचमा १० ओभरमा ९१ रन खर्च गर्ने अष्ट्रेलियाई पेस बलर सीन एबटले भने, हाम्रो एग्जिक्यूशनमा गल्ती भइरहेको छ। यस्तो हारबाट शिक्षा लिएर गल्तीहरू सुधार्नेछौं भन्नु सजिलो छ तर रणनीतिलाई मैदानमा सटीक तरिकाले काममा लगाउनु जरूरी छ। रणनीतिलाई काममा लगाउन नसक्दा नै हामीले कुटाई खानु परिरहेको छ।
अष्ट्रेलियाले यी म्याचहरूमा आफ्नो फ्रण्ट लाइन बलरहरू नखेलाएको कुरा पनि सही हो तर टीमसँग वर्ल्ड कपमा भारत विरुद्ध पहिलो म्याच अघि केवल एउटा वनडे अनि दुईवटा अभ्यास म्याच रहेको छ। अष्ट्रेलियन टीम म्यानेजमेण्टले वर्ल्ड कप अघि थकानबाट बाँच्न केही सीनियर खेलाड़ीहरूलाई विश्राम दिने फसेला गरे पनि लगातार हारले टीमको मनोबललाई अवश्यै क्षति पुग्नेछ। अष्ट्रेलियाई टीमका प्रमुख पेस बलर मिचेल स्टार्कले चोटले गर्दा गत सातवटा वनडे म्याच खेलेका छैनन् तर उनले भारत विरुद्ध बुधवार अन्तिम म्याच खेल्ने सम्भावना छ। चोट र पितृत्व अवकाशले गर्दा ग्लेन म्याक्सवेल र एश्टन एगर उपलब्ध छैनन् अनि यी दुईको फिटनेसलाई लिएर पनि अहिलेसम्म कुनै स्पष्टता छैन। इन्दौरमा नियमित कप्तान प्याट कमिन्स र मिचेल मार्श दुवैलाई आराम दिइएको थियो। कमिन्स चोटमुक्त भएर हालै खेलमा फर्किएका छन्।
मार्शले लगातार ६ वटा वनडे म्याच खेले पनि कुनै पनि म्याचमा बलिंग गरेनन्। विश्व कपको टीममा रहने दुईजना ब्याक अप् पेस बलर स्पेन्सर जनसन र नेशन एलिसको फिटनेसलाई लिएर पनि चिन्ता रहेको छ। ह्यामस्ट्रिंगको चोटले गर्दा जनसनले इन्दौरमा आफ्नो पदार्पण म्याचमा केवल ८ ओभर बलिंग गरेका थिए। यसबीच ३१५ या त्यसभन्दा अधिक रन खर्च गरेको अधिकांश म्याचमै दुईजना सीनियर बलर जोस हेजलवुड र स्पिनर एडम जाम्पा खेलेका छन्। हेजलवुडले इन्दौरमा सम्मानजनक बलिंग गरे तर दक्षिण अफ्रिकामा दुईपल्ट करियरको सबैभन्दा खराब प्रदर्शन पनि गरे। जाम्पाले यी म्याचहरूमा ८.३३ रन प्रति ओभरको औसतले रन खर्च गरेका छन् अनि सेञ्चुरियनमा त दक्षिण अफ्रिका विरुद्ध उनले ११३ रन खर्च गरेका थिए, जुन वर्ल्ड रेकर्ड हो। यसबाहेक एबट, ग्रीन र मार्कस स्टोइनिस पनि वर्ल्ड कपको टीममा रहेका छन्।
स्टोइनिसले दुईवटा वनडे म्याचमा बलिंग गरेनन्। म्याक्सवेलको फिटनेस समस्या, स्टोइनिसको खराब फर्म र मार्शले बलिंग नगर्दा ग्रीनले वर्ल्ड कपको टीममा सन्तुलन दिन सक्छन् तर उनी स्वयं पनि ब्याट र बल दुवैको साथ खराब फर्ममा रहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *