कालचिनीः सोमबार साँझदेखि रातभरि आदिवासीको प्रकृति उत्सव करम पूजाको विधि विधान पश्चात मंगलबार बिहान कालचिनी खण्डको डिमा नदी र बासरा नदीमा करम विसर्जनको भीड़ व्यापक जमेको थियो। यस क्रममा डिमा नदीमा र बासरा नदीमा कालचिनी थाना अन्तर्गत पर्ने प्रायः १२ वटा चियाबारीको करम श्रद्धालुहरूको भीड़ साथै साताली र मेन्दाबारी बस्ती एवम् राजाभातखावा, पोरो बस्तीका करम श्रद्धालुहरूको पनि जमघट रहेको थियो।
यस क्रममा डिमा नदी करम अखड़ा कमिटीको प्रमुख तोफिल सोरेङले विसर्जन साथै करम अखड़ामा अलिपुरद्वार सांसद जोन बारला, कालचिनी, कुमारग्राम र मदारीहाट विधायकहरूको आगमन हुने जनाएका छन्। यता अखिल भारतीय आदिवासी विकास परिषदको आयोजनामा बासरा नदीमा आविप जिल्ला सभापति बबालु लाकड़ा लगायत कमिटीको सदस्यहरूले बिहान अलिपुरद्वार डीएसपी, अलिपुरद्वार जिल्ला परिषदका सभाधिपति स्निग्धा साइबो, तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव समाजसेवी पासाङ लामा एवम् अन्यान्यलाई मञ्चमा आदिवासी परम्परामा स्वागत जनाएको थियो। डिमा करम अखड़ा कमिटीको पक्षबाट तोफिल सोरेङले बर्षेनी डिमा करम अखड़ामा विसर्जनको दिन भीड़ जम्ने गरेको र यसलाई मध्यनजर गर्दै पुलिस प्रशासनको सहयोगिता एवम् डिजास्टर टीमलाई पनि डिमा र बासरा नदीमा तयार राखिएको र करम पूजाको विसर्जन उत्सवमा रंगारंग सांगेतिक कार्यक्रमको आयोजना गरिएको बताए। यता बासरा नदीको घाटमा पनि अखिल भारतीय आदिवासी विकास परिषदको आयोजनामा करम विसर्जन कार्यक्रम सम्पन्न भएको जसमा आविपको अलिपुरद्वार जिल्ला सभापति बाबलु लाकड़ा लगायत परिषदका सदस्यहरूले आमन्त्रित अतिथिहरूलाई आदिवासी परम्परा मुताबिक स्वागत जनाएको थियो। सो अवसरमा अलिपुरद्वार डीएसपी लगायत अलिपुरद्वार जिल्ला परिषदका सभाधिपति स्निग्धा साइबो एवम् अन्यान्यको उपस्थिति रहेको थियो।