सिलगढी: जीटीएद्वारा गरिएको टेट परीक्षा (टिचर्स इलिजिबिलिटि टेस्ट) असंवैधानिक तथा नकली रहेको कुरा आरटीआई रिपोर्ट मार्फत उजागार भएपछि दार्जिलिङका सांसद राजु विष्टले राज्यका राज्यपाल डा. सीभी आनन्द बोस अनि सीबीआई डाईरेक्टर प्रवीन सुद (आईपीएस)-लाई यसको उचित जाँच गरिनु पर्ने माग गरेका छन्। जीटीएको पहलमा गरिएको उक्त नकली टेट परीक्षाको लागि दार्जिलिङ, कालेबुङ लगायत तराई डुवर्स क्षेत्रका १४ हजार युवाहरूले फारम भरेका थिए भनी सांसद विष्टले जनाएका छन्। दार्जिलिङका एकजना युवाले राज्यको शिक्षा विभागलाई उक्त टेट परीक्षाबारे आरटीआई गरेर सोधिएको जवाबमा जीटीए सभामा टेट परीक्षा गर्न सक्ने कुनै प्रावधान नरहेको स्पष्ट रूपमा उल्लेख गरेको कुरा राज्यपाल तथा सीबीआई अधिकारीलाई सांसद विष्टले जनाएको बताएका छन्।यसको साथै अवैध रूपमा जीटीए-ले टेट परीक्षाको नाममा बोरोजगारहरूबाट लाखौ रूपियाँ उठाएर धाँधली गरेकोले यसको निष्पक्ष रूपमा जाँच गरिनु पर्ने साथै यसमा संलग्न दोषीहरूलाई सजाय हुनु पर्ने तिनले माग गरेका छन्। यसैगरी, जीटीएको पहलमा गरेको असंवैधानिक टेट परीक्षाबारे निष्पक्ष रूपमा छानबिन गरिनु पर्ने राज्यका शिक्षा मन्त्री व्रत बसुलाई पनि माग गरेको कुरा सांसद विष्टले जनाएका छन्।