डेंगुको बिमारी बढेपछि बढाइयो सतर्कता

00-Dengue-Rep-Image

कोलकाता: कोलकातासहित राज्यका विभिन्न भागमा डेंगु संक्रमितको संख्या लगातार बढिरहेको छ। पछिल्ला केही दिनयता राज्यमा धेरै पानी परेको छ। यस्तो अवस्थामा सडकका खाल्डाखुल्डीमा पानी भरिएपछि त्यसमा डेंगुको लार्भा बढ्ने त्रास बढेको छ। यसका कारण पनि डेंगुका बिरामी बढ्दै गएको विज्ञहरू बताउँछन्। उत्तर २४ परगनामा सबैभन्दा धेरै केसहरू रिपोर्ट गरिएको छ। राज्यका तीन जिल्लाहरू, उत्तर २४ परगना, नादिया र मुर्शिदाबादलाई रेड जोन घोषणा गरिएको छ भने धेरै जिल्लाहरूमा हटस्पटहरू सिर्जना गरिएको छ। अहिलेको अवस्थामा राज्यमा दैनिक २५० देखि ३ सयजनामा ​​डेंगुको संक्रमण देखिएको समाचार छ। डेंगुका कारण हालसम्म ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। यद्यपी आधिकारिक रुपमा ३ जनाको मात्रै मृत्यु भएको पुष्टि भएको छ। अहिलेसम्म डेंगुका बिरामीको संख्या ३८ हजार नाघेको छ। एक हप्तामा एक हजारभन्दा बढी केसहरू रिपोर्ट गरिएको छ। कोलकातामा डेंगु संक्रमितको संख्या ४ हजार नाघेको छ। मलेरियाका बिरामी पनि अस्पतालमा भर्ना भएका छन्।

कोलकाता बाहेक, उत्तर २४ परगना, नादिया, मुर्शिदाबाद, हावडा, हुगलीमा संक्रमितको संख्या धेरै छ। दक्षिणी दमदम, विधाननगर, बारासात, कमरहट्टीका क्षेत्र डेंगुको हट स्पटका रूपमा देखा परेका छन्। स्रोतहरूका अनुसार उत्तर २४ परगना जिल्लामा सबैभन्दा धेरै हट स्पटहरू छन्। शहर तथा पंचायत क्षेत्रमा डेंगुको जोखिम बढेको छ। यस्तो अवस्थामा पंचायतका नवनिर्वाचित सदस्यहरूलाई यसबारे सचेत गराइनेछ। यसका साथै ग्रामीण अस्पतालमा डेंगु उपचारका लागि तालिम दिइँदै आएको छ। स्वास्थ्य भवनले डेंगु नियन्त्रणका लागि प्रत्येक जिल्लामा एक वा एकभन्दा बढी चिकित्सक नियुक्त गर्ने निर्णय गरेको छ। यो सिजनमा डेंगु संक्रमित बिरामी अस्पताल पुग्न ढिलाइ हुने गरेको बताइएको छ। घरमै उपचार गराइरहेका बेला एक्कासी अवस्था नाजुक बन्दै गएको छ। कतिपय अवस्थामा ग्रामीण अस्पताल वा स्वास्थ्य केन्द्रबाट शहरका अस्पतालमा ‘रेफरल’ हुन ढिलाइ हुने गरेकोले मृत्यु हुनेको संख्या बढ्दै गएको छ। जिल्लामा कसलाई रिफर गर्ने र कुन बिरामीको उपचार गर्न सकिन्छ भन्ने विषयमा जिल्लामा नियुक्त सम्बन्धित विज्ञहरूले सल्लाह गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement