नाम्ची: नाम्ची जिल्लाअन्तर्गत रहेका खण्डहरूको तृणमूल समस्या बुझ्ने अनि ती समस्याहरू समाधान गर्ने उद्देश्यले जिल्ला कार्यालयद्वारा सुरु गरिएको समन्वय कार्यक्रमको तेस्रो बैठक आज सुम्बुक खण्ड प्रशासनिक केन्द्रमा सम्पन्न भयो। जिल्ला अध्यक्ष अञ्जिता राजालिमको अगुवाईमा आयोजित बैठक जिल्ला उपाध्यक्ष विकास तामाङ, नाम्ची जिल्ला पञ्चायत अधीनस्थ सबै जिल्ला पञ्चायतहरू लगायत ६ वटै ग्राम प्रशासनिक केन्द्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सुम्बुक खण्ड प्रशासनिक केन्द्रमा आयोजित आजको बैठकमा खण्डको 6 वटै ग्राम प्रशासनिक केन्द्रका सम्बन्धित प्रतिनिधि र अधिकारीहरूको उपस्थिति रहेको थियो। उनीहरूले आ-आफ्नो ग्राम प्रशासनिक केन्द्रका गुनासोहरू जिल्ला अध्यक्ष अघि राखे। कतिवटा ग्राम प्रशासनिक केन्द्रमा अधिकांश एक परिवार एक नोकरी योजनाअन्तर्गत नोकरीमा लागेका कर्मचारीहरू रहेको अनि उनीहरूमध्ये धेरै डिउटी नआउने गरेको समस्यालाई जिल्ला अध्यक्षअघि ध्यानाकर्षण गराउँदै यसबारे निगरानी गरिदिनुपर्ने आह्वान गरे। जिल्ला अध्यक्ष राजालिमले उनीहरूको समस्यालाई ध्यानमा राख्दै खण्ड विकास अधिकारीलाई यसबारे निगरानी गर्न र स्थितिबारे रिपोर्ट पेश गर्नुपर्ने निर्देश दिएकी छन्। यससँगै सुम्बुक खण्डअन्तर्गत धेरै घरमा जल जीवन मिशनको पानी नपुगेको आजको बैठकमा गुनासो राखियो भने यसबारे उचित पहल गरिने जिल्ला अध्यक्ष राजालिमले आश्वासन दिइन्।
जिल्ला कार्यालयबाट जिल्ला अध्यक्ष अनि उपाध्यक्षहरू स्वयं घुमेर खण्डमा समस्या बुझ्ने कार्य गरेको पहिलो पटक हो भन्ने उपस्थित पञ्चायत अनि जिल्ला पञ्चायतहरूले मन्तव्य पोख्दै यस कार्यको सराहना गरेका छन्।
कतिपय तक्निकी कारणले गर्दा १५औँ वित्तीय आयोगको धनराशि ग्राम पञ्चायतमा ट्रान्सफर हुन नसकेको समस्यालाई ध्यानमा राख्दै यसबारेमा दक्षिण-पश्चिम पञ्चायत समन्वयकसँग बसेर समस्या समाधानहेतु उचित पहल गर्नुपर्ने छलफल गरियो। कार्यक्रममा आगामी 6-देखि 8 अक्टोबरसम्म गान्तोकमा आयोजन गरिने पञ्चायत सम्मेलनबारे पनि जानकारी गराइयो।