
मीठो चियाको चुस्की
विश्वलाई पिलाएर
दुःखको व्हिस्कीले
मातिएका चियाबारी श्रमिकको
पसिना र खून पिएर
मुनाफा कमाउने
मालिक, मालिकको संरक्षक
हरियो सुनमा अशर्फी, डलर देख्छन्
अनि त्यही डलरले
दिल्ली, कलकत्तामा कारखाना खोली
बार्बी डलहरू उत्पादन गर्छन् र
पहाडमा पठाउँछन्
शहर,कमान र बस्तीमा
चाबी, ब्याट्री
आफ्नो हातमा राखी;
बार्बी डलहरु
छमछम नाच्छन्
प्री रेकर्डेड गीतमा
मुन्टो बटार्दै, कम्मर मर्काउँदै,
बार्बी डलका अवैध सन्तानहरू
थप्पडी मार्छन् उफ्री उफ्री
र भन्न मन लाग्छ
वाह! क्या मजा छ पहाड़मा
बार्बी डलहरूको नौटंकी हेर्नु
नौटंकी हेर्दै थप्पडी मार्नु!