सिक्किमका अनिकेत ठाकुरलाई मोडेलिङमा दादा साहेब फुल्के पुरस्कार

IMG-20230926-WA0002.jpg

गान्तोक: महाराष्ट्रको राजधानी मुम्बईको एउटा पाँच तारे होटेलमा आयोजित इण्डियन टेलिभिजन अवार्ड २०२३ मा सिक्किमका अनिकेत ठाकुरलाई मोडेलिङमा दादा साहेब फुल्के पुरस्कार प्रदान गरिएको छ। यो पुरस्कार भारतीय सिनेमा जगतकी चर्चित अभिनेत्री मन्दाकिनीको बाहुलीबाट अनिकेत ठाकुरलाई प्रदान गरिएको थियो। सानै उमेरदेखि नै अभिनय र मोडेलिङमा रुचि राख्दै आएका अनिकेत ठाकुरले राजधानी गान्तोक नजिक चानमारीको जुबिलेन्ट स्कुलबाट आफ्नो प्रारम्भिक शिक्षा गरेका हुन् भने वेस्टपोइन्ट सिनियर सेकेण्डरी स्कुलबाट बाह्रौं श्रेणी उतिर्ण गरेका हुन्। हाल एसआरएम युनिभर्सिटीमा बीसीए विषयमा शिक्षा आर्जन गरिरहेका छन्।

अनिकेत ठाकुरले सर्वप्रथम वर्ष २०२१ को मई महिनामा सोनिया खताना अनि सन्दिप गोस्वामीद्वारा नोयडा, उत्तरप्रदेशमा आयोजित इण्डियाज टप मोडल प्रतियोगितामा सहभागिता जनाएका थिए। उक्त प्रतियोगितामा अनिकेत ठाकुरलाई मिस्टर शो टपरको खिताब प्राप्त भएको थियोे।
यसरी नै २०२१ को अक्तुबर महिनामा शरद चौधरीको ड्रिम्ज प्रोडक्सन हाउसद्वारा दिल्लीमा आयोजित सुपर मोडेलिङ इन्टरनेशनल प्रतियोगितामा पनि अनिकेतले सहभागिता जनाएका थिए भने उनी उपविजेताको खिताब हासिल गर्न सफल भएका थिए।
अनिकेतले मोडेलिङ बाहेक अनलाइन मार्केटिङको निम्ति ह्याण्ड सेनिटाइजर, लिप बाम, फेस मोइसाराइजर जस्ता विभिन्न व्यवसायिक उत्पादहरुको विज्ञापनमा पनि अभिनय गरेका छन्।
हाल अनिकेत ठाकुरले उत्तराखण्ड राज्यमा छायांकन भइरहेको रियलिटी शो “रियल खेलाडी” को सेमिफाइनलसम्मको छायांकन सिद्ध्याएका छन्। यो रियलिटी शो केही महिना पछि पञ्जाबी च्यानल पीटीसी- मा प्रसारण हुनेछ।

२२ वर्षीय अनिकेत ठाकुरलाई एमाजोनमा प्रसारण हुने वेब सिरिज “कलेज रोमान्स” का निर्माताले आफ्नो प्रोजेक्टमा लिने वचन दिएका छन् जसको निम्ति प्रोजेक्ट साइन गर्न आफुले तयारी गरिरहेको अनिकेत ठाकुरले एउटा भेंटमा बताएका छन्।

About Author

Advertisement