गोवा: गोवा सरकारको दिव्याङ्गजन आयोगले अन्तरराष्ट्रिय स्तरमा आगामी वर्षको जनवरी महिनामा “पर्पल फेस्ट’ आयोजन गर्ने निधो गरेको छ। दिव्याङ्गजनलाई समाजको मूल स्रोतमा समाहित गर्नु अनि उनीहरूभित्र लुकेको प्रतिभालाई समाजअघि दर्शाउने उद्देश्यले यो फेस्टको आयोजन गरिने आयोगका आयुक्त गुरुप्रसाद पेश्वासकरले सिक्किमका पत्रकारहरूलाई आज गोवाको राजधानी पणजीस्थित मुख्य सचिवालयमा जानकारी दिएका छन्। हाल सिक्किमका ११ जना पत्रकार गोवाको सरकारी भ्रमणमा रहेका छन्। पत्र सूचना कार्यालय गान्तोकले आयोजन गरेको यो सरकारी भ्रमणको क्रममा गोवामा सामाजिक कल्याण तथा दिव्याङ्गजनको हितमा के-कस्ता कामहरू भइरहेका छन्, त्यस विषयमा जानकारी लिन पत्रकारहरूको टोलीले पणजी सचिवालयस्थित सामाजिक कल्याण विभागको भ्रमण गरेको थियो। आयुक्त गुरुप्रसाद पेश्वासकरले थप जानकारी दिएअनुसार यसै वर्षको जनवरी महिनामा आयोगले गोवामा पहिलोचोटि दिव्याङ्गजनको हितका निम्ति पर्पल फेस्टको आयोजन गरेको थियो, जसले समाजमा सकारात्मक प्रभाव परेको थियो। आगामी वर्षको जनवरीमा हुने अन्तरराष्ट्रिय कार्यक्रममा सिक्किमलाई पनि सहभागी बनाएर सिक्किमका दिव्याङ्गजनको हितमा पनि कार्य गर्ने उनले प्रतिबद्धता जाहेर गरे।
पर्पल फेस्टले दिव्याङ्गजनभित्र लुकेको प्रतिभाको प्रस्फुटन गर्न सफल भएको र पहिलो पर्पल फेस्टमा सयभन्दा बेसी विभिन्न विधामा कार्यक्रमहरू आयोजन गरेको जानकारी दिँदै आयुक्त पेश्वासकरले आगामी वर्ष सम्पन्न हुने अन्तरराष्ट्रिय फेस्टमा भारतका विभिन्न राज्यलगायत दिव्याङ्गजनको हितमा राम्रो कार्य गर्ने इजरायल, नर्वे, डेन्मार्कजस्ता देशहरूलाई पनि समावेश गरिनेछ। पर्पल फेस्टको आयोजनाले देशमा दिव्याङ्गजनका निम्ति नीति निर्धारण गर्न धेरै सहयोग पुगेको पनि उनले जानकारी दिए र आगामी दिनमा हुने कार्यक्रमहरूले दिव्याङ्गजनको हितमा नीति निर्धारण गर्ने दिशामा नयाँ-नयाँ सम्भावना अघि आउने उनले विश्वास व्यक्त गरे।
पहिलो पर्पल फेस्टबाट उत्साहित आयुक्त पेश्वासकरले देशमा दिव्याङ्गजनलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भएको उनको ठम्याइ रहेको छ।
यसैगरी, आयोगका सचिव ताहा आई. हाजिकले पनि पत्रकारहरूसँग कुराकानी गर्दै दिव्याङ्गजनको निम्ति नयाँ-नयाँ तक्निकीको प्रयोगले जीवनलाई अझ सहज तथा सुगम बनाउन सहयोग पुगेको दाबी गरे। पर्पल फेस्टमा आएका प्रतिभागीहरूबाट नयाँ-नयाँ विचारहरू उत्पन्न भएको र ती विचारहरूलाई तक्निकीको सहयोगले अझ सहज र सुगम बनाउने सकिने दिशामा पहल भइरहेको पनि जानकारी दिए। यो एउटा निरन्तर चल्ने प्रक्रिया भएकोले आगामी दिनमा हुने पर्पल फेस्टबाट दिव्याङ्गजनको हितमा नयाँ-नयाँ तक्निकी आउने उनले विश्वास व्यक्त गरे।
आज भएको भेटघाट कार्यक्रममा पीआईबी सिक्किमबाट दुईजना र गोवा पीआईबीका संयुक्त निर्देशक पनि साथमा रहेका थिए।