भानु जयन्तीको अवसरमा स्व पीएल धमालाप्रति समर्पित अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता सम्पन्न

IMG-20220713-WA0219.jpg

खरसाङ: आदि कवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा गोर्खा जनपुस्ताकालय भवनमा रामायण पाठ प्रतियोगिता सम्पन्न भएको छ। जनपुस्ताकालय खरसाङको आयोजनामा सम्पन्न उत्तरार्ध्दको कार्यक्रम अन्तर्गत पुस्तकालयको पारसमणि प्रधान प्रेक्षागृहमा
स्व पीएल धमालाप्रति समर्पित अन्तरविद्यालय रामायण पाठ प्रतियोगितामा खरसाङको विभिन्न विद्यालयहरूलाई लिएर सम्पन्न भएको छ। पुस्ताकालयको सभापति पूर्ण गुरुङ निरुपमको अध्यक्षता र खरसाङ महाविद्यालयको प्राचार्य डा समीर बलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा खरसाङको पाँचवटा विद्यालयहरूले भाग लिएका थिए। उक्त विद्यालयहरूमा रामकृष्ण कन्या उच्चतर माध्यमिक विद्यालय, सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालय, सन्त अल्फन्सेस विद्यालय, तीनधारे उच्चतर माध्यमिक विद्यालय र पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए। उक्त प्रतियोगितामा निर्णायकको रुपमा प्राध्यापक गङ्गाप्रसाद भट्टराई, प्राध्यापक मेघनाथ छेत्री, उषाकिरण सत्यदर्शी र अदिप रोका उपस्थित थिए। कार्यक्रममा एचएस बस्नेत र रेणुका रोका चक्रवर्तीले रामायण पाठ गरेका थिए। उक्त प्रतियोगिता शुरु हुन अघि गोर्खा जनपुस्ताकालय खरसाङको सदस्य एंव शिक्षक स्व पीएल धमालाको नाममा मौन धारण गरिएको छ। सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूद्वारा आदि कवि भानुभक्त आचार्यको तस्वीरमा धुप दिप प्रज्वलन साथै खदार्पण गरी श्रध्दाञ्जली अर्पण गरिएको छ। शिक्षिका गोमा सुब्बाद्वारा सञ्चालित कार्यक्रममा स्वागत सम्भाषण पुस्ताकालयको सचिव विनोद रसाइलीले राखेका थिए। कार्यक्रममा पाँचवटा विद्यालयहरूका विद्यार्थीहरूले रामायण पाठ गरेका थिए। कार्यक्रममा निर्णायकको रुपमा उपस्थित प्राध्यापक मेघनाथ छेत्री, प्रमुख अतिथि डा समीर बल, सभाध्यक्ष पूर्ण गुरुङ निरुपम आदिले वक्तव्य राखेका थिए। स्व पीएल धमालाप्रति समर्पित अन्तर विद्यालय रामायण पाठ प्रतियोगितामा पहिलो स्थान रामकृष्ण कन्या उच्चतर माध्यमिक विद्यालय र दोस्रो स्थानमा सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालय भएका छन्।

त्यसरी नै तेस्रो स्थानमा सन्त अल्फन्सेस विद्यालय, चौथोमा तीनधारे कन्या उच्चतर माध्यमिक विद्यालय र पाँचौमा पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय भएका छन्। सबै बिजेता, उप विजेता, तेस्रो, चौथो र पाँच स्थानमा रहेका विद्यार्थीहरूलाई अतिथिहरूको बाहुलीबाट ट्रफी प्रदान गरिएको छ। कार्यक्रममा रामकृष्ण कन्या उच्चतर माध्यमिक विद्यालय विद्यार्थीहरूले कविता वाचन गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा द्वारिका धमाला, चन्द्रकला यल्मो, ललिता भण्डारी उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement