गान्तोक: आज गुरु पूजा राजधानी गान्तोकको तिब्बत पथस्थित सम्भाला आश्रममा भव्यता साथ पालन गरियो। मानव उत्थान सेवा समिति, गान्तोक तहसिलद्वारा आयोजित यस गुरु पूजा पर्वमा रानीपुल, भुसुक, मार्ताम, रुम्तेक, ३२ नम्बर, राङ्का, निमटार, रोङ्गे, छोङ्गे आदि स्थानबाट ठुलो सङ्ख्यामा भक्तजनको उपस्थिति थियो।
गुरु पूजा पर्वको यस कार्यक्रमलाई सम्बोधन गर्दै समितिका महात्मागण अखलेश बाईजी, निर्मोही बाईजी र निर्वाणी बाईजीले समयका तत्वदर्शी सदगुरूको सान्निध्य बिना मानवको जीवन अधुरो नै रहन्छ भनी बताए। मानव जीवनमा आध्यात्मिक गुरुको महत्त्व बारे प्रकाश पार्दै महात्मागणले सदगुरू बिना मानवले गर्ने सम्पूर्ण भौतिक कर्महरु निष्फल रहेको बताए। यसरी नै सम्बोधन राख्दै महात्मागणले भौतिक जीवनलाई सफल बनाउन अध्यात्म ज्ञानको आवश्यकता रहेको र यसको निम्ति समयको तत्वदर्शी सदगुरूको शरणमा जानु पर्ने बताए। यो कार्यक्रमलाई मानव उत्थान सेवा समितिका वरिष्ठ कार्यकर्तागणले पनि सम्बोधन गरेका थिए भने भजन कलाकारहरूले अध्यात्मिक भजन प्रस्तुत गरेका थिए।
यसरी नै बाल सभाका बालबालिकाहरुले रामायण पाठ गरेका थिए भने उत्कृष्ट रामायण पाठ गर्नेहरुलाई महात्मागणको बाहुलीद्वारा पारितोषिक प्रदान गरियो।