भानु जयन्ती भव्यरूपमा पालन

IMG_20220713_191652.jpg

सोरेङ: आज सोरेङ स्कूलको स्वर्ण जयन्ती रङ्गशालामा २०८औं भानु जयन्ती समारोह समिति सोरेङ जिल्लाको तत्वावधानमा भानु जयन्ती भव्यरूपमा पालन गरियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित जनलेखा समितिका अध्यक्ष एवं विधायक आदित्य गोलेले सोरेङ डाँडा बजारस्थित आदिकवि भानुभक्त आचार्यको सालिकमा दीप प्रज्जवलन र माल्यार्पण गरि भानुलाई नमन गरे। भानु सालिकदेखि सोरेङ बजार, सोरेङ जिल्ला प्रशासनिक कार्यालय परिसर हुँदै डाँडा बजार भएर सोरेङ स्कूलसम्म शोभायात्रा निकालियो।
सोरेङमा आयोजित भानु जयन्ती कार्यक्रममा मुख्य अतिथि विधायक गोले अतिरिक्त रिञ्चेन्पोङ समष्टिका विधायक केएस लेप्चा, अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेम कुमार सुब्बा, भानु जयन्ती समारोह समितिका अध्यक्ष एवं सोरेङ जिल्लाका जिल्लापाल भीम ठटाल, पुलिस अधीक्षक जे. जया पाण्डेय,सोरेङ जिल्ला कार्यालयका विभागीय प्रमुख, भाषा-साहित्यका अनुयायीहरू, साहित्यकार, साँस्कृतिक टोली र विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न जात गोष्ठीका नृत्य प्रस्तुति सँगसँगै रामायण पाठ, कविता पाठ र तर्क प्रतियोगिता हेर्नलायक कार्यक्रम रहेको थियो। विद्यार्थीवर्गको स्वरचित कविता पाठ प्रतियोगितामा प्रथम थर्पु स्कूलकी प्रतिक्षा शर्मा र दोस्रो रोदन छेत्री बने। यसरी नै खुल्ला स्वरचित कविता प्रतियोगितामा प्रथम पासाङ छिरिङ लेप्चा र दोस्रो मदन शर्मा बने।
अन्तरविद्यालय रामायण पाठ प्रतियोगितामा थर्पु उच्चतर माध्यमिक विद्यालय पहिलो र सोरेङ उच्चतर माध्यमिक स्कुल दोस्रो बन्न सफल बने। खुल्ला रामायण पाठ प्रतियोगितामा टिम्बुरबुङ ग्राम पञ्चायत एकाई प्रथम र गेलिङ बेगुणे पञ्चायत एकाई दोस्रो बनेका छन्। यी प्रतियोगिताका विजेताहरुलाई मुख्य अतिथि र विशिष्ट अतिथिको बहूलीबाट पुरस्कार प्रदान गरियो। आज अतिथि कलाकारको रूपमा उपस्थित चर्चित हास्य व्यंग्य कलाकार महेन्द्र बागदासले ‘मेरो नजरमा भानुभक्त’ माथि सन्देशमूलक विशेष प्रस्तुति दिएका थिए।
कार्यक्रममा देन्ताम नौबाजा टोली, छिमेकी राज्य कालेबुङका चर्चित हास्य व्यंग्य कलाकार महेन्द्र बागदास र टोली अनि अप्पर श्रीबदम निवासी प्रोग्रेसिभ माछापालक कृषक दलबहादुर गुरुङलाई मुख्य अतिथिको हातबाट सम्मान जनाइयो। प्रधानाध्यापक डीएच सुब्बाद्वारा सञ्चालित कार्यक्रमलाई मुख्य अतिथि विधायक आदित्य गोले र समारोह समितिका अध्यक्ष एवं जिल्लापाल भिम ठटालले पनि भानु जयन्तीलाई पालन गर्नको उदेश्य र औचित्यमाथि प्रकाश पार्दै सम्बोधन राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement