काठमाडौं: नेपाल उद्योग परिसंघ (सीएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रवर्द्धन गर्न नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको अवसरमा सीएनआई र सीसीपीआईटीबीच यस्तो समझदारी भएको हो। समझदारी पत्रमा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सीसीपीआईटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गरेका छन्।
समझदारीसँगै नेपाल चाइना बिजनेस काउन्सिलमार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरहरुको पूर्ण सम्भावनाको सदुपयोग गर्ने र नेपाल चीन दुवैका व्यावसायिक समुदायको विकासका लागि सहजीकरणमा सहजता आउने विश्वास गरिएको छ।
काउन्सिलले दुई देशबीच व्यवसायिक गतिविधिहरूलाई सुव्यवस्थित गर्न, अनुसन्धान र अध्ययन–सम्बन्धित पहलहरू सञ्चालन गर्न, लगानी अभिवृद्धिका लागि नेटवर्किङका अवसरहरू सिर्जना गर्न, व्यावसायिक भ्रमण आदानप्रदान गर्न, सम्मेलन तथा सम्वादलगायतका गतिविधि गर्नेछ ।यी लक्ष्य प्राप्त गर्न परिसंघ र सीसीपीआईटीले काउन्सिलको गठन सहित सहकार्यको रोडम्याप तयार पारेका छन्। नेपाल चाइना बिजनेस काउन्सिलमा चार सदस्य रहनेछन् र प्रत्येक संस्थाबाट दुई जना प्रतिनिधि हुनेछन्। परिसंघका अध्यक्ष अग्रवालले यस समझदारीले नेपाल चीनबीच व्यावसायिक सम्बन्ध अभिवृद्धिसँगै चिनियाँ लगानी तथा प्रविधि भित्र्याउन नेपाल–चीन व्यावसायिक परिषद् महत्वपूर्ण माध्यम बन्ने बताए। उनले परिषद्ले देखिने गरी प्रभावकारी रुपमा काम गर्ने विश्वास समेत व्यक्त गरे।