गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पाङथाङमा ताज गुराँस कुटिर रेसोर्ट एण्ड स्पाको उद्घाटन गरे। सम्बोधनको क्रममा मुख्यमन्त्री तामाङले अम्बुजा न्योटिया अनि आईएचसीएलको संयुक्त प्रयासमा राजधानीमा यस प्रकारको परियोजना शुरू गरेर स्थानीयहरूलाई अवसर प्रदान गरेकोमा बधाई दिए।
उनले यहाँका लागि कर्मचारीहरूका रूपमा सिक्किमे युवा नारीहरूलाई अवसर दिन पनि सम्बन्धित पक्षलाई आह्वान गर्दै यसो गर्नाले सिक्किममा भएको बेरोजगार समस्याको पनि केही हदसम्म समाधान हुन सक्ने मन्तव्य गरे। सिक्किमका युवा, नारीहरूले पनि यहाँ स्थापित यस्ता निजी संरचनाबाट फाइदा लिन सक्नुपर्ने मुख्यमन्त्रीको भनाइ थियो।
कुनै पनि होटल वा संरचनाहरू स्थापित हुनु भनेको स्थानीयहरूको आयस्रोत वृद्धि हुनु हो भन्दै यस्ता उद्योग, धन्दाले राज्यवासी सबैलाई प्रत्यक्ष वा परोक्ष रूपमा फाइदा पुग्ने उनले आफ्नो मन्तव्यको क्रममा जनाए। सिक्किम राज्य पर्यटकहरूको लागि योग्य भएकाले सिक्किम राज्य एक शान्तिप्रिय र समृद्धिको क्षेत्रमा उत्कृष्ट रहेको जानकारी गराए।

मुख्यमन्त्रीले सिक्किम सरकारद्वारा शुरु गरिएका विविध कार्य योजनाकाबारे पनि प्रकाश पारे। आजको यस कार्यक्रममा पर्यटन मन्त्री बीएस पन्त, मन्त्री कर्मा लोडे भोटिया लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।