कालिझोडामा २०८औं भानुजयन्ती पालन

Aadi-Kavi-Bhanubhakta

सिलगढी: कालिझोडास्थित शान्ति चोकमा २०८औं भानु जयन्ती अनि शान्ति चोक सुन्दरीकरणको उद्घाटन समारोह कालिझोडा सोसियल वेलफेयर एसोसिएसनको आयोजनामा भाषा प्रेमीहरुको बाक्लो उपस्थितिमा सम्पन्न भयो। कार्यक्रमको सभापतित्व मिता सुन्दासले गरे। एसोसिएसनको पहलमा गरिएको शान्ति चोक सुन्दरीकरणको उद्घाटन स्थानीय वयोवृद्ध व्यक्ति लाक्पा तामाङको बाहुलीबाट गरियो उनको साथमा स्थानीय वयोवृद्ध व्यक्तिहरु क्रमैले जेबी छेत्री, गम्भीर सिंह घतानी, रामबहादुर कार्की पनि विशेष रुपमा उपस्थित थिए। उनीहरुको बाहुलीबाट आदिकवि भानुभक्त आचार्यको प्रतिमामा दिप प्रज्वलन गरि पुष्पाञ्जली अनि खादार्पण गरियो। एसोसिएसनका पदाधिकारीहरु लगायत उपस्थित सम्पूर्ण महानुभावहरुले आदिकविलाई श्रद्धाञ्जली अर्पण गरे। एसोसिएसनका सह सभापति आनन्द घतानीले संचालन गरेको कार्यक्रममा भानुभक्तलगायत नेपाली भाषा आन्दोलनका विभूतिहरु अनि भर्खरै मणिपूरको नोनीमा गएको भीषण पैह्रोको चपेटमा परी प्राण गुमाएका ११ गोर्खा राईफल्सका १०७ टीएका जवानहरु शहीद भएका हुँदा सबैको स्मरणमा श्रद्धाञ्जली स्वरुप एक मिनटको मौनधारण गरियो। एसोसिएसनका सह सचिव एवं कवि/शिक्षक दिलिप छेत्री गोर्खाले स्वागत भाषण सहित दुईवटा स्वरचित कविताहरु सुनाएर कार्यक्रमलाई कवितामय बनाए। गाउँका बालिकाहरुले जातिय भेषभूषामा सुन्दर नेपाली नृत्यको प्रस्तुति दिए।

कार्यक्रममा एसोसिएसनका मुख्य सल्लाहकार समाजसेवी अनि शिक्षक अरुण घतानीले भानुभक्तको जीवनी,  भाषिक एकरुपता ल्याउन भानुभक्तको योगदानबारे बताए। नेपाली भाषाले संवैधानिक स्वीकृति पाएर पनि यसको व्यापक प्रयोग नहुनु दु:खको कुरा रहेको बताए। हामीलाई विदेशी भन्ने कुतत्वहरुलाई हाम्रो क्षेत्रमा व्यापक रुपमा नेपाली भाषाको प्रयोग गरेर देखाउनु पर्छ। आज भन्दा २०८ वर्ष अघि गरीब कूलमा जन्मिएका घाँसीको समाज सेवी विचार आजको युगमा पनि उतिकै प्रेरणा दायक छ। भानुका जीवनमा घटित घटनाहरूको स्मरण गराउँदै उनका कविता “भरजन्म घाँसतिर” र “गजाधर सोतिको” स्लोक पनि सुनाए। यसैगरी एसोसिएसनका सभापति सुवास तामाङले भने, ‘यो शान्ति चोक हाम्रो एसोसिएसनले सुन्दरीकरण गरेर यसलाई जनताको निम्ति हस्तान्तरण गरेका छौं। यसको संरक्षणको जिम्मेवारी अब सम्पूर्ण जनताको हो। यस्ता कार्य सरकारले मात्र होइन तर इच्छाशक्ति भए हामी आफै पनि गर्न सक्छौं भन्ने उदाहरणीय पहल हाम्रो संस्थाले थालनी गरेको छ। भानुलाई सम्झनु भनेको हाम्रो भाषा, हाम्रो आमालाई सम्झना गर्नु सरह होl’ कार्यक्रममा स्थानीय सेल्फ हेल्प ग्रुपमा दिदी बहिनीहरूको पनि उपस्थिति रहेको थियो। सबैलाई भानुजयन्तीको शुभकामना दिँदै कार्यक्रमको समापन भएको जानकारी कालिझोडा सोसियल वेलफेयर एसोसिएसनका सह सचिव दिलिप छेत्री गोर्खाले एक प्रेस विज्ञप्ति जारी गरी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement