कालचिनीः नेपाल काठमाड़ौँका बौद्ध धर्मगुरु खेन्पो सोनम ग्युरमे तामाङको विशेष उपस्थिति एवम् असमका बौद्ध धर्मगुरु खेन्पोको आतिथ्य अनि भोटाङका एसडीएम अधिकारीहरूको उपस्थिति साथै डुवर्सको विभिन्न ठाउँहरूबाट आएका बौद्ध धर्म अनुयायीहरूको जमघटमा आइतबार कालचिनी खण्डको भारत भोटाङ सीमान्त जयगाउँ सहरको अग्रसेन भवनमा विश्व शान्तिको निम्ति छेवाङ पूजा साथै नेपालका प्रतिष्ठित बुद्ध भजनकार अनि तामाङ संगीतकार चन्द्रकुमार दोङ एवम् टोलीद्वारा बौद्ध भजन साँझ भव्यरुपमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ।

प्राप्त जानकारी अनुसार, आउँदो बर्ष नेपाल काठमाड़ौमा सम्पन्न हुने धर्म आइडल क्याम्पेन अनि अन्तर्राष्ट्रिय बौद्ध महोत्सवको प्रचार साथै सहयोगमा सो कार्यक्रम सम्पन्न भएको बताईएको छ। अन्तर्राष्ट्रिय बौद्ध महोत्सवको डुवर्स संयोजक अमित तामाङले जनाए अनुसार आगामी साल २०२४ को मई महीनामा नेपाल काठमाड़ौमा २० दिनव्यापी खेन्पो सोनम ग्युरमे तामाङको पवित्र पहलमा ञ्युङ्ने उपषोध साथै धर्म आइडल एवम् अन्तर्राष्ट्रिय बौद्ध महोत्सव कार्यक्रम हुने भएको छ भने यसको निम्ति नेपाल र भारतभरीका बौद्ध धर्मावलम्बीहरूलाई यसको जानकारी गराउन साथै सहभागी गराउने उद्देश्यले दार्जीलिङ, सिक्किम र डुवर्सभरी नै बुद्ध भजन अनि प्रवचन कार्यक्रमको शुरुवात आइतबार जयगाउँदेखि गरिएको हो। आइतबार जयगाउँमा सम्पन्न सो धार्मिक भजन एवम् प्रवचन कार्यक्रममा जेडीएका एईओ भूषण शेर्पा लगायत जयगाउँका विशिष्ट समाजसेवी विष्णु लामा, जयगाउँ दुई नम्बर ग्राम पञ्चायतका उपप्रधान फुर्बा लामा, एवम् छिमेकी राष्ट्र फुन्छेलिङका अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।