स्वर्ण जयन्ती पालन विषय लिएर डुवर्स नेपाली साहित्य विकास समिति सभा सम्पन्न

194fc98c-4a8e-40b5-b0f3-88cfaf6472fd

कालचिनीः आउँदो बर्ष २०२४ को दिसम्बर महीनामा डुवर्सको नेपालीभाषीहरूको माउ संस्था डुवर्स नेपाली साहित्य विकास समितिको ५०औँ बर्षपूर्तिको अवसरमा भव्यरुपमा पालन हुने स्वर्ण जयन्ती समारोह विषयलाई लिएर आइतबार बीरपाड़ास्थित पथेर साथीको प्रेक्षागृहमा डुनेसाविसको एउटा महत्वपूर्ण सभा सम्पन्न भएको जानकारी समितिको मूलसचिव रबिन खवासले दिएका छन्। बीरपाड़ा पथेर साथीमा बसिएको सो सभाको अध्यक्षता समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले गरेको थियो भने समितिको संरक्षक तथा संस्थापक सदस्यहरू सागर राई देवान, कृष्ण योञ्जन गड़बड़े, दुर्गा चामलिङ लगायत अन्यान्य विशिष्ट सदस्यहरूको उपस्थितिमा सभा सम्पन्न भएको थियो। सभामा प्रथमत दिवंगत साहित्यकार नरबहादुर दाहाल र चन्द्रबीर प्रधानको प्रतिकृतिमा धुपदीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।
सभामा आउँदो बर्ष २०२४ को दिसम्बर महीनाको २८-२९ तारिकमा सम्पन्न हुने समितिको स्वर्ण जयन्ती समारोहको तयारी लिएर वृहत छलफल चलेको थियो। अन्ततः सभाले सबैको सहमतिमा डुवर्सको केन्द्र मानिने बीरपाड़ामा नै स्वर्ण जयन्ती पालन गर्ने र यसको निम्ति एउटा अभ्यर्थना समितिको चयन गरेको छ। उक्त अभ्यर्थना समितिको सभापतिको अध्यक्ष हर्कु तामाङ, सचिव बुद्धिमान लामा र संयोजकमा कृष्णबहादुर श्रेष्ठलाई चुनेका छन भने आउँदो दिन पुनः एउटा सभा बसेर पूर्णाङ्ग अभ्यर्थना समिति तयार गरिने मूलसचिव रबिन खवासले जनाएका छन्। सभामा सिलगढ़ीको वरिष्ठ साहित्यकार तथा बैकुन्ठपुर पत्रिकाको सम्पादक भानु प्रकास मार्मिकले पनि आफू मूलतः डुवर्सकै छोरो भएकोले कुनै पनि प्रकारको सहयोग गर्न पछि नपर्ने प्रतिबद्धता जाहेर गरे भने यस क्रममा सभामा उपस्थित बाग्राकोट उमाविका प्रधानाध्यापक सागर शर्मा, कालचिनी सृजनशील समूहको सचिव चन्दन भट्टराई, गजलगो उमेश प्रधान, बुद्धिमान लामा, कवि तथा गीतकार गणेश गजमेर, हर्कु तामाङ, अजय खड़का, साहित्यकार आसबहादुर सुब्बा, वेगवसन्त थापा, राजेश प्रधान, आदिले आ-आफ्नो सुझाव राखेको थियो।
डुवर्स नेपाली साहित्य विकास समितिको स्वर्ण जयन्ती आफैमा एउटा इतिहास हुने भएकोले यसलाई भव्यतापूर्ण सम्पन्न गर्ने जमर्को सबै सदस्यहरूले लिएको र आगामी दिनमा अझै वृहत छलफल गरेर तयारीको साथ अघि बढ़ने समितिका उपाध्याक्ष रुपेश शर्मा, कार्यकारी अध्यक्ष अबीर खालिङ, अध्यक्ष कृष्णबहादुर श्रेष्ठ र मूलसचिव रबिन खवासले थप जनाएका छन्।
सभाले डुनेसाविसको शिक्षा अनि सांस्कृतिक उपसमितिलाई अझै सुदृढ़ बनाएर लैजानेबारे पनि व्यापक चर्चा चलेको थियो भने समितिको संस्थापक सदस्यहरू एवम् संरक्षकहरूको समन्वयमा काम गर्दै बीरपाड़ामा समितिको भवन अनि कार्यालय निर्माणको दिशामा काम गर्ने र समितिको नयाँ कमिटी चुनाउ गणतान्त्रिक चुनावी पद्धतिमा सम्पन्न गर्ने र डुवर्सको व्यक्ति अनि व्यक्तित्व विशेषाङ्कको प्रकाशनमाथि पनि काम गर्ने र समितिको जमीन चिन्हित गरेर त्यहाँ भवन निर्माण गर्न सम्बन्धित निकायहरूमा सम्पर्क साध्ने काम पनि गरिने आदि विषयमा सकारात्मक छलफस अनि प्रस्ताव ग्रहण गरिएको समितिको उपाध्याक्ष रुपेश शर्मा र मूलसचिव रबिन खवासले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement