१३ जुलाईः मिक्स-अप् सेभेन, बुद्ध ग्राम (खरसाङ)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खा शहीद च्यालेञ्ज ट्रफी सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टमा ईगल्स सेभेन सिलगढ़ीले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। स्थानीय मण्टिभियट खेल मैदानमा बुधवार खेलिएको पूल बी-को म्याचमा ईगल्स सेभेन सिलगढ़ीले भूटिया सेभेन खरसाङलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट फरवर्ड पूजन सुब्बाले दुवै गोल गरे। यसरी नै भूटिया सेभेनबाट दावा भूटियाले गोल गरे। ईगल्स सेभेन सिलगढ़ीका लरेन्सलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बिहीवार खेलिने पूल ए-को म्याचमा भूमिपुत्र एफसी मतिगढ़ा र अम्बटियाबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २३ र २४ जुलाईमा हुनेछ भने फाइनल २७ जुलाईमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँ अनि रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा संयोजक प्रतीक गुरुङले बताएका छन्।