यो अभियान हाम्रो माटो हाम्रो नाममा गराइदिने अभियान हो : अनित थापा
दार्जिलिङ: माटोको अधिकार माग्ने अभियान आजदेखि शुरु भएको घोषणा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए प्रमुख अनित थापाले दार्जिलिङको जनसभाबाट गरेका छन्। दार्जिलिङको जनसभालाई सम्बोधन गर्दै अनित थापाले भने,’जन आकांक्षाको आवाज जुन दिन मेरोमा आयो, त्यही आवाज मैले कोलकातामा सुनाए। उनीहरूले मेरो कुरा बुझेर घडेरी पट्टा दिलाउने प्रक्रियामा रोक लगाए। हाम्रो विचारसँग पहाडका कुना कुनाका मानिसहरू जोडिने क्रम जारी छ।जबसम्म हाम्रो अधिकारको यात्रा गन्तव्यसम्म पुग्दैन तबसम्म हाम्रा सहयात्रीहरूले यात्रा छोड्नु हुँदैन। जबसम्म हाम्रो अभियान टुंगिन्दैन तबसम्म मलाई पूजा अर्चना गरेर लगाई दिनु भएको माला आजदेखि मेरो पूजा थानमा राख्नेछु र अभियान पूर्ण भएको दिन गंगामा लगेर बगाउने छु।’
अनित थापाले आफ्नो सम्बोधनमा अघि भने, ‘रामको काम हो गोर्खाल्याण्ड ल्याउनु। उसलाई हामीले दिएको जिम्मेवारी पूरा गर्नु पर्छ। भागोप्रमोले बोकेको जिम्मेवारी हामीले पूरा गरेका छौं। मैले वचन दिएको छु। म वचनको पक्का छु।माइकमा बोलेर सबै कुरा हुँदैन। दस्तावेज बोल्छ। म घडेरी पट्टा दिने कार्यलाई रोक्नु मात्र मेरो उद्देश्य होइन तर मेरो कमानवासीको जनआकांक्षा पूरा गर्न वचनबद्द छु। तर यसमा तपाईहरुको सहयोग पनि चाहिन्छ।’

थापाले अझ भने, ‘यो अभियान भागोप्रमोलाई बलियो बनाउने अभियान होइन। मेरो कमानवासीको अधिकार दिलाउने अभियान हो। हाम्रो सन्तानलाई जमीन फर्काई दिने अभियान हो। यस मुद्दा अनि लडाईमा विपक्षीकालाई पनि एकै मञ्चमा आउने आग्रह गर्दछु। यो मुद्दाको निम्ति हामी नफुटौं। जोईन्ट फोरम, चिया सुरक्षाका लागि अपिल आउनुहोस हामी मिलेर एउटै मञ्चमा उभिएर कमानवासीलाई अधिकार दिलाऔं।’

भागोप्रमो अध्यक्ष अनित थापाले अाजको जनसभामा पनि गोर्खाल्याण्ड विषयमा बोल्दै भने, ‘गोर्खाल्याण्ड विषय कसैलाई बुझाउनु पर्दैन। त्रिपक्षीय वार्ता पनि चाहिन्दैन। भाजपाको राजनैतिक इच्छा शक्तिको जरूरत छ। चुनाव छेउमा त्रिपक्षीय वार्ता किन चाहियो? हाम्रो चाहना गोर्खाल्याण्ड हो। तर दिने मान्छेको चाहना नै छैन। जबसम्म गोर्खाल्याण्ड हुँदैन तबसम्म हामीले हाम्रो जीविका चलाउन सक्ने वातावरण हुनुपर्यो। गोर्खाल्याण्डको आन्दोलनकै कारण हामीले सिलगढी गुमाई पठायौं।’

उनले पट्टा विषयमा बोल्दै भने, ‘जोईन्ट फोरमका धेरै व्यक्तिहरू सरकारमा थिए। उनीहरूले किन पट्टा दिलाउनु सकेनन्? मैले सरकारलाई सिङ्गो जमीनको पट्टा दिलाउने कुरा सम्झाई सकेको छु। हाम्रो जमीन हाम्रो नाममा हुनुपर्छ भनेर मांग पनि गरेको छु। यो अभियान हाम्रो माटो हाम्रो नाममा गराइदिने अभियान हो। हामीलाई पट्टा चाहिन्छ भन्ने कुरा सरकारको कानमा पुर्याउनु सक्षम भयौं। हामीले डायलग सुरु गर्यौ। पट्टा दिलाउने पहल शुरु भयो। सरकारले दिने पट्टा जनआकांक्षाको विरोधमा आयो। चिया सुरक्षा समिति अनि जोईन्ट फोरमले मलाई बैठकमा बोलाउनु हुन्छ भने म आउनेछु। तपाईहरुसंग बसेर कस्तो किसिमको पट्टा चाहिन्छ विमर्श गरौं। त्यसो पट्टा लिएर सरकारलाई सम्झाउने काम गर्नेछु। हाम्रो जातिलाई नउक्साई, नढाँटी काम गरौं।’