गोरूबथान: गोरूबथान टुरिजम डेभलपमेन्ट सोसाइटीका प्रतिनिधि टोलीद्वारा शनिवार नवनिर्वाचित पंचायत समिति चेयरमेन सूर्यमणि राईसित भेट गरी गोरूबथानको इको टुरिजमलगायत विभिन्न विषयमाथि छलफल गरेको जानकारी प्राप्त भएको छ। प्राकृतिक, सांस्कृतिक तथा धरोहरले सम्पन्न गोरूबथानमा कसरी इकोटुरिजममार्फत स्थानीय मानिसहरूको आर्थिक विकास गर्न सकिन्छ तथा शिक्षित युवाहरूलाई स्वालम्वी बनाउन सकिन्छ भन्ने उद्देश्य राखेर गठन भएको गोरूबथान टुरिजम डेभलपमेन्ट सोसाइटीले विगत केही वर्षयता यस दिशामा आफ्नो बुँताले सकेसम्म पहल गरिरहेको छ। पूर्णरुपले निजी व्यवस्थामा संचालित सोसाइटीले सम्बन्धित निकाय अनि सरोकारवालाहरूसित मिलेर गोरूबथानलगायत वरिपरि कसरी इको टुरिजमलाई दिगो आम्दानीको रुपमा परिणत गर्न सकिन्छ भन्ने सोच राखेर कार्य गरिरहेको छ। यसै क्रमलाई निरन्तरता दिंदै शनिवार सोसाइटीका सभापति ओङ्देन मोलोमु, सचिव तुफान सुब्बा, मुख्य सल्लाहकार श्याम थापा, डा. पवन थापा, देवप्रकाश राईको एक टोलीले चेयरमेन सूर्यमणि राईसित भेट गरेर विभागीय रुपमा हुन सक्ने सहयोगलगायत अन्य विषयमाथि लामो चर्चा परिचर्चा गरे।
सोसाइटीको पक्षबाट गोरूबथानलाई कसरी इको टुरिजमको क्षेत्रमा अघि बडाएर लैजान सकिन्छ भन्ने योजनाबारे जानकारी गराए। यस मार्फत स्थानीय मानिसहरूको आर्थिक अवस्थालाई मजबुत बनाउन मात्र नभएर यहाँका मानिसहरूलाई स्वालम्वी बनाउनका साथै पंचायतलाई पनि रेभेन्युको व्यवस्था गर्न सकिने सम्भावना रहेको बताए। गोरूबथान बायोडार्भरसिटीमा पनि धनी रहेकोले यहाँ पाइने विभिन्न प्रजातिका किटपतंग, चराचुरुङ्गी, जंगली जनावर, औषधीय गुणयुक्त उद्भिद आदिमाथि शोध गर्नार्थ यहाँ स्टडी सेन्टर खोल्न सकिने विषयमाथि पनि चर्चा गरियो। त्यसरी नै ग्राम पंचायत, पंचायत समितिमार्फत मोडल भिलेज, मोडल हाट बनाउन सकिने प्रावधान रहेकोले यस विषयमा आगामी दिनमा थप छलफल, खोजबिन गरेर गोरूबथानमा पहल गर्न सकिनेमाथि पनि चर्चा गरियो। बैठकमा पंचायत समिति सदस्य कुमार थापा अनि असिम राई, बबरु बहन राणाको पनि उपस्थिति रहेको थियो।