गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको लीगल सेलले आज प्रथम पल्ट सरकार अनि सरकारी अधिवक्ताहरूलाई लिएर समन्वय सभा सम्पन्न गर्यो। आजको समन्वय कार्यक्रममा मुख्य अततिथिको रुपमा राज्यका कानून अनि संसदीय मामिला विभागीय मन्त्री कुङ्गा निमा लेप्चा मुख्य अतिथिको रुपमा उपस्थित थिए। यसरी नै कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत अनि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका नारीशक्ति अध्यक्ष एवं पार्षद कला राई उपस्थित थिए। आजको समन्वय सभामा बार एसोसिएशनका अध्यक्ष टाशी नर्बु, लिगल अफिसर दिलीप तामाङ, पाक्योङ अनि गान्तोक जिल्लाका लिगल कोअर्डिनेटर सोनाम भोटिया अनि पब्लिक प्रोसीक्युटर बिरेन तामाङले राज्यका सबै अधिवक्ताहरूलाई प्रतिनिधित्व गर्दै वर्तमान सरकारले अधिवक्ताहरूको हितमा गरेको विभिन्न कार्यहरूको प्रशंसा गर्दै उनीहरूले हालमा भोग्नु परिरहेको समस्याहरूबारे विचार व्यक्त गरे। वर्तमान सरकारले प्रत्येक विभागमा एकजान अधिवक्ता नियुक्त गर्दै सबैलाई अवसर प्रदान गरेको अनि यो पूर्व सरकारको कार्यकालममा नभएको बताए। पूर्व सरकारले आफ्नो मनपर्नेहरूलाई मात्र धेरै विभाग जिम्मा दिएर उनीहरूको व्यक्तिगत फाइदा गराउने गरेको पनि बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले अधिवक्ताहरूको समाज प्रतिको भूमिकाबारे आफ्नो विचार राखे। विगतमा सर्वोच्च न्यायलयको एउटा आदेशमा सिक्किमे नेपालीहरू विदेशी उल्लेख हुँदा सरकारले भोग्नु परेको वाधा अढ्चनमा सबै अधिवक्ताहरूले आ-आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेकोमा उनले सबैप्रति आभार व्यक्त गरे। आगामी दिनमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले अधिवक्ताहरूको हितमा अवश्य कार्य गर्ने पनि बताए। यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै पार्षद कला राईले अधिवक्ताहरू समाजको विशिष्ठ व्यक्तित्व रहेको अनि वर्तमान सरकारको नीति निर्धारणहरूमा सबैले आफ्नो विचार दिने सथै के सही भएको छैन सोबारे पनि सल्लाह सुझाव दिने आग्रह गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका प्रेस सचिव बस्नेतले सबैलाई सरकारसँग तालमेल गरेर अघि बढ्ने आग्रह गरे। कुनै पनि अधिवक्तालाई आवश्यक परेको खण्डमा सरकार कहिल्यै पछि नहट्ने पनि उनले कटिबद्धता व्यक्त गरे।