२३ सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले रोमाञ्चक जीतको साथ प्री-क्वार्टर फाइनलमा स्थान बनायो। शनिवार सिमुलबारी खेल मैदानमा भएको म्याचमा यूकेएफसी-ले मायादेवी क्लबलाई ३-२-ले पराजित गऱ्यो। यूकेएफसी-बाट पेमा लामा (पेनल्टी), रोहन राई र नयन प्रधानले गोल गरे। यसरी मायादेवी क्लबबाट रुपम रोय र विदेशी खेलाड़ी स्टेफन मार्डीले गोल गरे। विजेता टीमका रोहन राईलाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार खेलिने म्याचमा बोडो (मेची) एसएससी, अलिपुरद्वार र नादोङ भूटिया फूटबल एकाडमी, कालेबुङबीच भिड़न्त हुनेछ। यस प्रतिष्ठित टुर्नामेण्टमा नामी-दामी २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः ६ र ७ अक्टोबरमा खेलिनेछ। यसरी फाइनल १० अक्टोबरमा हुनेछ। सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।