२३ सेप्टेम्बरः पाकिस्तान क्रिकेट बोर्डका मुख्य चयनकर्ता इञ्जमाम उल हकले भारतमा आउँदो महिना शुरु हुने आईसीसी वनडे वर्ल्ड कपको निम्ति टीमको घोषणा गरेपछि यस पाकिस्तान टीमले ट्रफी जित्न सक्ने दावी गरे। वर्ल्ड कपमा पाकिस्तानले ६ अक्टोबरमा हैदराबादको राजीव गान्धी इण्टरनेशनल स्टेडियममा नीदरल्याण्ड विरुद्ध आफ्नो अभियान शुरु गर्नेछ। पाकिस्तानका पूर्व कप्तान इञ्जमामले यस टीमले असल प्रदर्शन गर्ने अनि १९९२ पछि पहिलोपल्ट ट्रफी जित्ने भरोसा व्यक्त गरे। उनले भने, यस टीमले पाकिस्तानमा वर्ल्ड कप ट्रफी ल्याउने अनि आफ्नो अविश्वसनीय प्रदर्शनको साथ सबैलाई गौरवान्वित पार्न सक्ने मलाई पूरा विश्वास छ। अब हामीले आफ्नो टीमलाई समर्थन गर्ने समय आएको छ। खेलाड़ीहरूलाई हाम्रो समर्थनको आवश्यकता छ। वर्ल्ड कप कुनै पनि खेलाड़ीको जीवनको सबैभन्दा महत्त्वपूर्ण घटना हुन्छ अनि म सबैलाई बधाई दिन चाहन्छु।
इञ्जमामले अझ भने, यी क्रिकेटरहरूले आफ्नो प्रभावशाली प्रदर्शनको दममा टीममा स्थान बनाएका छन्। यस टीमले गत केही वर्षमा असाधारण प्रदर्शन गरेको छ। यसैकारण हामीले यस समूहमाथि भरोसा देखायौं। उल्लेखनीय छ, पाकिस्तानको टीम यस विश्व कपमा युवा पेस बलर नसीम शाह बिना मैदानमा ओर्लिनेछ। चोटसँग जुझिरहेका नसीमको स्थानमा हसन अलीलाई टीममा स्थान दिइएको छ। इञ्जमामले टीममा गरिएको फेरबदल र चोटग्रस्त हारिस रऊफको स्थितिबारे पनि जानकारी दिए। उनले भने, नसीमको दुर्भाग्यपूर्ण चोटले गर्दा हामी टीममा एउटा बद्लाउ गर्न वाध्य भयौं। यस टीममा रहने सबै खेलाड़ी फिट अनि वर्ल्ड कपमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न तयार छन्। यो महत्त्वपूर्ण टुर्नामेण्ट हुनेछ। हारिस रऊफको चोटलाई लिएर हामीलाई मेडिकल टीमबाट उत्साहजनक रिपोर्ट प्राप्त भएको छ। उनले राष्ट्रिय क्रिकेट एकाडमीमा हल्का बलिंग अभ्यास शुरु गरेका छन् अनि चयनको निम्ति उपलब्ध हुनेछन्।
वर्ल्ड कपको निम्ति पाकिस्तानको टीमः
बाबर आजम (कप्तान), शादाब खान, फखर जमान, इमाम-उल-हक, अब्दुल्ला शफीक, मोहम्मद रिजवान, सऊद शकील, इफ्तिखार अहमद, सलमान अली आगा, मोहम्मद नवाज, उसामा मीर, हारिस रऊफ, हसन अली, शाहीन शाह अफरीदी र मोहम्मद वसीम।