गान्तोक: सिटिजन एक्सन पार्टी-सिक्किमको मुख्यालयमा आज अखिल सिक्किम युवा कल्याण परिषदको एक सभा सांगठनिक कार्यकारी अध्यक्ष डीबी चौहानको अध्यक्षतामा सम्पन्न भयो।
पश्चिम सिक्किमको सोरेङ बजारमा आयोजना हुन लागिरहेको युवा सम्मेलनलाई ध्यानमा राख्दै गान्तोक जिल्ला र पाक्योङ जिल्लाको समन्वय सभा गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
सभामा सोरेङ बजारमा प्रस्तावित युवा सम्मेलन के कस्ता प्रकारले आयोजना गरिने भन्ने विषयमा व्यापक चर्चा परिचर्चा भयो। सभामा गान्तोक जिल्लाको मार्ताम रुम्तेक समष्टिबाट जम्मा सात जना विधिवत रूपमा सिटिजन एक्सन पार्टी-सिक्किममा सामेल भएको बताइएको छ। सभाध्यक्ष डीबी चौहानले खादा लगाएर पार्टीमा सामेल गराए।
सभा सभाध्यक्ष चौहानले युवाहरूको कल्याणकारी भविष्य सन्दर्भ सरोकारको पक्ष राखे। युवा समाज निर्माणका असली कारिगर हुन् भन्दै सभामा उपस्थित वक्ताहरुले आफ्नो मन्तव्य राखेका थिए। सुनौलो भविष्य बोकेका युवाहरूले जस्तै आँधी तुफानको सामना गरेर सिटिजन एक्सन पार्टी-सिक्किमलाई अघि बढाउने सभामा प्रण गरेको बताइएको छ।