गान्तोक: मौरी पालनलाई लिएर आज पाण्डाम अर्गानिक एग्रो फेट कपरेटिभ सोसाईको पहलमा संस्थाका सदस्यहरूलाई लिएर सात दिवसीय प्रशिक्षण कार्यक्रम डुगा ग्राम प्रशासन केन्द्रमा शुरू भयो। यस अवसरमा शहरी विकास विभाग मन्त्री एलबी दास मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने सेन्ट्रल पाण्डमका जिल्ला पञ्चायत लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी संस्थाका अध्यक्ष पीके प्रधानले मौरी पालन, मौरीको वर्गीकरण, उपकरणको पहिचान आदिबारेमा आफ्नो अनुभव बाँडे।
यसै क्रममा अतिरिक्त रजिष्ट्रार केसाङ याङ्कीले यस प्रशिक्षण कार्यक्रमको महत्व र यसबाट अधिकतम लाभ लिनुपर्ने सहभागीहरूलाई आग्रह गरिन्। उनले थप जानकारी गराए अनुसार राज्य सरकार अधिनस्थ दर्ता भएका विभिन्न किसिमका सहकारीबारे जानकारी दिँदै सहकारी किरानामा मात्र सीमित नरहेको बताइन्।
केन्द्रमा यसको मन्त्रालय बनेपछि देशभरिका सहकारी विशेष गरी बहुउद्देश्यीय सहकारीलाई एलपी ग्यास वितरण, जनऔषधी केन्द्र, पेट्रोल पम्प, साझा सेवा केन्द्रलगायतका तीन सयभन्दा अधिक प्रकारका व्यवसाय सञ्चालन गर्न अनुमति दिएको जानकारी गराइन्। यसरी नै जिल्ला पञ्चायतले आफ्नो सम्बोधनमा क्षेत्रका युवाहरुलाई यस प्रकारको कार्यक्रममा सहभागी बनेर लाभ उठाउनु पर्ने आग्रह गरे।