खरसाङमा आदि कवि भानुभक्तको जन्म जयन्ती पालन

IMG-20220713-WA0167.jpg

पश्चिम बंगाल राज्यभरि नै आदि कवि भानुभक्तको जन्म जयन्तीको दिन छुट्टी हुनु पर्ने हो र यसको लागि सही रूपमा पहल हुन आवश्यक छ: डा. समीर बल

खरसाङ: खरसाङको गोर्खा जनपुस्ताकालयको आयोजनामा यहाँको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती पालन गरिएको छ। गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा दुई चरणमा भानु जयन्ती समारोह सम्पन्न गरिएको छ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत खरसाङको गोर्खा जातीय विभूति उद्यानमा रहेको आदि कवि भानुभक्त आचार्यको सालिगमा श्रध्दाञ्जली अर्पण कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रम गोर्खा जनपुस्ताकालय खरसाङको अध्यक्ष पूर्ण गुरुङ निरुपमको अध्यक्षता र खरसाङ महाविद्यालयको प्राचार्य डा. समीर बलको प्रमुख आतिथ्यमा सम्पन्न भयो। पुस्ताकालयको सचिव विनोद रसाइलीले सञ्चालन गरेको कार्यक्रमको शुरुमा आदि कवि भानुभक्तको सालिगमा सभाध्यक्ष र प्रमुख अतिथि लगायत अन्य विशिष्ट अतिथिहरूद्वारा धुप दीप प्रज्वलन अनि खदार्पणसहित आदि कवि भानुभक्त आचार्यलाई श्रध्दाञ्जली अर्पण गरेका थिए।

त्यसरी नै विद्यार्थीहरू र विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू अनि जनसाधारणले पनि आदि कवि भानुभक्तको सालिगमा श्रध्दाञ्जली अर्पण गरे। कार्यक्रममा वरिष्ठ नागरिक अदिप रोका र एचएस बस्नेतले रामायण पाठ गरेका भने रामकृष्ण कन्या उच्चतर माध्यमिक विद्यालयकी छात्राद्वय एलिजा थापा र प्राची छेत्रीले कविता पठन गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा अधिवक्ता आईके शर्मा, आशा मुखिया लामा, बिनोद प्रकाश शर्मा, तुलसी अधिकारी, पूर्व चेयरम्यान कुसुमलता सुब्बा, रुथरानी राई, डीएस दर्नाल, ललिता भण्डारी, अमृता गुरुमा, पूर्व सभासद प्रभा छेत्री लगायत अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै खरसाङ महाविद्यालयको प्राचार्य डा समीर बलले आदि कवि भानुभक्त आचार्यको सालिग नेपालमाभन्दा पहिला भारतमा बनिएको र दार्जिलिङमा सन् १९४० सालमा नै भानुभक्तको सालिग निर्माण भएको र खरसाङमा पनि सन् १९७८ मा सालिग निर्माण भएको जानकारी गराएका छन्। उनले खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानलाई हेरचाह र सर सफाई गर्ने जिम्मेवारी खरसाङ महाविद्यालयले विगत २ वर्षदेखि गर्दै आएको बताउँदै यहाँ पानीको व्यवस्था भए हामी यहाँ बगैंचा निर्माण गर्नलाई कार्य गर्ने पनि बताएका छन्।

डा. बलले यो गोर्खा जातीय विभूति उद्यान ऐतिहासिक स्थल हो कारण यहाँ हाम्रो विभुतिहरूको सालिगहरू राखिएको छ र यहाँ बाहिरबाट मानिसहरू एंव पर्यटकहरू आउने गर्छन् त्यसैले यसको लागि यो उद्यान मानिसहरूको लागि खुल्ला गर्न सकिए राम्रो हुने र यहाँ आउने अनेपालीहरूलाई यहाँ रहेको सालिगहरूको जानकारी गराउनलाई एकजना हुन आवश्यक छ भनी बताएका छन्। उनले भानु जयन्तीको दिन केवल दार्जिलिङ र कालेबुङ जिल्लामा मात्र छुट्टी छ तर सम्पूर्ण भारतभरि रहेको नेपालीहरूको लागि छुट्टी हुन आवश्यक रहेको बताउँदै कमसेकम पश्चिम बंगाल राज्यभरि नै आदि कवि भानुभक्तको जन्म जयन्तीको दिन छुट्टी हुनुपर्ने हो र यसको लागि सही रूपमा पहल हुन आवश्यक रहेको बताएका छन्। आजको भानु जयन्ती समारोह विषयमा गोर्खा जनपुस्ताकालय खरसाङको उप सभापति ऋषि राईले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्। उनले खरसाङको गोर्खा जनपुस्ताकालयले किन २०९ औं भानु जयन्ती पालन गरिएको विषयमा पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement