२१ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टको चौथो संस्करणमा बुधवार दोस्रो क्वार्टर फाइनल म्याच खेलियो। त्यस म्याचमा बदामताम हाई स्कूलले सेण्ट माइकल्स स्कूललाई ३-१-ले पराजित गऱ्यो। म्याचको मध्यान्तरसम्म दुवै टीमले गोल गर्न सकेन। त्यसपछि दोस्रो हाफको खेलमा विजेता टीमबाट वांगचुक तामाङले ह्याट्रिक गरे। यसरी सेण्ट माइकल्स स्कूलबाट युवराज तामाङले १ गोल गरे।

ह्याट्रिकको साथ टीमलाई जीत दिलाउने वांगचुक तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। क्लास सेभेनसम्मका खेलाड़ीहरूले हिस्सा लिएको यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल २५ सेप्टेम्बर अनि फाइनल २७ सेप्टेम्बरमा खेलिनेछ।