कूचबिहार। कूचबिहारको रासमेला मैदानमा बुधबार ग्रेटर कूचबिहारका शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्न आईपुगेका ग्रेटर कोचबिहार पिपल्स पार्टीका नेता बंशीबदन बर्मनले नगेन राय उर्फ स्वयंभू अनन्त महाराजलाई अवसरवादीको संज्ञा दिए। स्मरण गराईन्छ, २० सेप्टेम्बर २००५ को दिन कूचबिहारलाई अलग राज्यको दर्जा दिन ठूलो आन्दोलनमा पुलिससितको झड़पमा ग्रेटर कूचबिहार पिपल्स पार्टीका धेरै कार्यकर्ताहरु शहीद भएको थियो भने बुधबार सोही दिनलाई स्मरण गर्दै ग्रेटर कूचबिहार पिपल्स पार्टीले रासमेला मैदानमा स्मृति सभाको आयोजना गरेको थियो। सोही क्रममा पत्रकारहरुलाई बंशीबदन बर्मनले अनन्त महाराजलाई अवसरवादीको संज्ञा दिएको थियो।

बंशीबदन बर्मनले कूचबिहारको राजवंशी जनसमुदायलाई एक हुने आह्वान गर्दै भारतमा विलयको सन्धि भएदेखि कूचबिहार सी श्रेणीको राज्य रहेको र केन्द्र सरकार समक्ष लामो समयदेखि कूचबिहारलाई राज्यको दर्जा दिनु पर्ने माग गर्दै आईरहेको र भविष्यमा पनि यही मागमा अडिग रहने बताए।