२३-२४ सेप्टेम्बरदेखि रजिस्ट्रेशन शुरू
गुवाहाटी: मुख्यमन्त्री आत्मनिर्भरशील असम अभियानको शुरूवात भएको छ। मुख्यमन्त्री डा हिमन्त बिस्व सरमाले दिल्लीबाट भिडियो कन्फ्रेन्सको माध्यमद्वारा एक बैठकमा यस अभियानको रूपरेखालाई अन्तिम रूप दिएका छन्।
बैठकमा गुवाहाटीबाट राज्यका मुख्य सचिव पवन बरठाकुरका साथै राज्यका वरिष्ठ अधिकारीहरू उपस्थित थिए। बैठकपछि मुख्यमन्त्रीले पत्रकारहरूलाई सम्बोधित गर्दै भने, असमका दुई लाख युवाहरूलाई यस योजना अन्तर्गत दुई-दुई लाख रूपियॉंको निःशुल्क सहायता दिइने छ। यस योजनाको निम्ति लाभार्थीहरूको रजिस्ट्रेशन २३ वा २४ सेप्टेम्बरदेखि शुरू हुनेछ।
मुख्यमन्त्रीले युवाहरूलाई बेरोजगारी भत्ता होइन तर रोजगारको साधन उपलब्ध गराउन चाहेको बताए। उनले यस योजनाको माध्यमद्वारा राज्यका युवाहरूलाई आत्मनिर्भर बनाउने प्रयास गरिने बताए।