अलीपुरद्वार: अलीपुरद्वार जिल्लाको जटेश्वर १ ग्राम पञ्चायतको कराईबारी इलाकामा गत अबेर राति एउटा जंगली चितुवा पिञ्जरामा फँस्यो। प्राप्त जानकारी अनुसार, स्थानीय मानिसहरूले हालै यस क्षेत्रमा चितुवाहरू देखेका थिए। यसपछि गाउँलेहरूले वन विभागको मदारीहाट रेञ्जलाई यसबारे जानकारी गराएर त्यसलाई पक्रिने माग गरेपछि वन विभागले चितुवा पक्रिनका लागि एउटा पिञ्जरा थापेको थियो। अन्तत: गत राति उक्त पिञ्जरामा चितुवा फँसेको बताइएको छ। चितुवा पिञ्जरामा फँसेको थाहा पाएपछि आज बिहान हेर्न आउने मानिसहरूको भीड जमेको थियो भने तिनीहरूले राहतको श्वास पनि फेरेका छन्।