दार्जिलिङ: गोप्य सूचनाको आधारमा २५ बोतल लागु औषधिसहित तीनजनालाई जोरेबङ्लो पुलिसले पक्राउ गरेको छ। पक्राउ पर्ने तीनजनालाई आज एनडीपीएस ऐन २१/सी, २२/सी अन्तर्गत अदालतमा पेश गरिएको छ। यसको साथै एउटा मारुती भ्यान पनि नियन्त्रणमा लिएको छ। यस विषयमा दार्जिलिङमा पत्रकार सम्मेलन बोलाएर दार्जिलिङ जिल्ला पुलिस अधीक्षक आईपीएस प्रवीण प्रकाशले जानकारी गराएका छन्। उनले भने, ‘केही व्यक्तिले नशालु पदार्थ ल्याएको जानकारी हामीलाई प्राप्त भएको थियो, त्यसैले हामीले ती तीनजनालाई पक्राउ गर्न सफल भयौं।’ उनले अघि भने, त्यस्तै गरी हामीले पछिल्ला केही दिनमा नक्सलबारी–खोरीबारीमा पनि धेरैलाई पक्राउ गरेका छौं। नेपालबाट आउने व्यक्तिबाट पनि ब्राउन सुगर बरामद गरेका छौँ।’
उनले अझ भने, ‘अनुसन्धान जारी छ र यसमा अरु कोही संलग्न छन् वा छैनन् पत्ता लगाउनेछौँ’।
एसपीले स्थानीय जनतालाई पुलिसको आँखा र कानमा ध्यान दिई कुनै जानकारी भए वा शंका लागेमा खबर गर्न अनुरोध गरे जसको लागि हेल्पलाइन नम्बर छ। जानकारी गोप्य राखिनेछ र जति धेरै जानकारी प्राप्त हुन्छ त्यति नै चाँडो दार्जिलिङलाई लागु औषधिमुक्त बनाउनेछौं भनी बताएका छन्।