गान्तोकः सिक्किम पुलिस बिहारको कुख्यात सटर कटुवा ग्याङ्गका दुई सदस्यलाई पक्राउ गर्न सफल बनेको छ। गत ५ र ६ जुलाई बीचको राति गान्तोकको एउटा मोबाइल दोकानमा भएको करिब २२ लाख रुपियाँ बराबर मुल्यको ९४ वटा मोबाइल चोरी काण्डको अनुसंधानको क्रममा गान्तोक सदर पुलिसलाई यो सफला हात लागेको हो। एसआइ उपास्ना शर्माको अगुवाइमा बिहारको चम्पारन जिल्लाअन्तर्गत घोरासाहन गाउँ पुगेको पाँच सदस्यी पुलिस दलले दुई आरोपीमध्ये एक ३८ वर्षीय विजय कुमारलाई सिक्किम लिएर आएको छ। अर्का आरोपी मोहम्मद इर्फान आलम विरुद्ध त्यसै समय चम्पारन थानामा हत्याको एउटा मामिला दर्ता भएकोले उनलाई अहिलै नै सिक्किम लिएर आउन नसकिएको गान्तोकका पुलिस अधीक्षक तेञ्जीङ लोडेन लेप्चाले बताएका छन्। बिहारको सटर कटुवा ग्याङ्ग महङ्गा इलेकट्रोनिक्स सामानहरूको चोरीलाई लिएर अहिले देशभरी नै कुख्यात बनेको छ। दोकानको सटर काटेर इलेक्ट्रोनिक्स सामान चोर्न उनीहरू खप्पिस छन्। भनिन्छ नेपाल र भारतको सिमानामा पर्ने घोरासान गाउँका वासिन्दाहरूको निम्ति चोरी अपराध नभएर सम्मानको काम हो। यस गाउँका प्रत्येक व्यक्ति यस ग्याङ्गमा सामेल हुन चाहन्छन् भने गाउँका प्रत्येक घरबाट कम्तिमा एक सदस्य यस ग्याङ्गका सदस्य रहेका छन्। १० देखि ५० वर्ष का २५० भन्दा अधिक सदस्य रहेको यस ग्याङ्गले देशका विभिन्न राज्यमा चोरी गर्दै आएको छ। सिमावर्ती क्षेत्र भएकोले चोरी गरेपछि लुक्न र चोरीको सामान बेच्न उनीहरूको निम्ति सजिलो हुनेगर्छ। प्रायः सबै चोरीका इलेक्ट्रोनिक्स सामानहरू नेपालमा बेच्ने गरेको बताइन्छ। अर्कोतिर यी अपराधहरूमा गाउँका सबै वासिन्दा लिप्त रहने गरेकोले पुलिसलाई कार्यवाही गर्न कठिन हुनेगर्छ। एउटा रिपोर्टअनुसार देशका प्रायः सबै राज्यबाट पुलिस दल यस ग्याङ्का आरोपीहरूलाई पक्राउ गर्न आउने गर्छन् तर सफलता बिरलै हात लाग्ने गरेको छ। सिक्किमको पुलिस दल भने १४ दिनसम्म घोरासाहन गाउँमा रहेर स्थानीय पुलिसको सहयोगमा ६ मध्ये दुई आरोपीलाई पक्राउ गर्न सफल बनेको पुलिस अधीक्षक लेप्चाले बताए। पुलिसको प्रारम्भिक जाँचमा थाहा लागेअनुसार सटर कटुवा ग्याङ्गका केही सदस्य चोरी काण्डको केही दिन अघि सिक्किम घुम्ने बहानामा रेकी गर्न गान्तोक आएका थिए। यस क्रममा उनीहरूको नजर हङ्ग्री ज्याक होटल नजिकको एउटा मोबाइल पसलमा परेको थियो जसको सटर काटेर उनीहरूले कूल ९४ वटा मोबाइल चोरी गरेका थिए।