कूचबिहार। गाई चोरीको सन्देहमा पक्राउ परेका एकजना युवकलाई बचाउँने क्रममा कोचबिहारको पुन्डीबारी थानाको पुलिसबलमाथि हमला गरिएको घटनामा धेरै गाउँलेहरुलाई पुलिसले समातेको जान्नमा आएको छ। स्थानीय बासिन्दाहरुले जनाए अनुसार, विगत धेरै दिन अघिदेखि क्षेत्रमा गाई चोरीको घटनामा वृद्धिले गाउँलेहरु यसको सुरक्षा गर्न थालेको थियो। गाउँलेहरुले अचानक मंगलाबार आधा रातमा एकजना युवकलाई मोटरसाइकलमा सवार भएर आईरहेको देखेर त्यस शंकास्पद युवकलाई रोकेर जिज्ञासा गर्दा उक्त युवकले सठीक जवाफ नदिएकोले गाउँलेहरुले कतै गाई चोरीमा संलिप्त त होईन भनि आशङ्का गर्न थालेको थियो।

यसबीच घटनास्थलमा पुलिस पुगेर उक्त युवकलाई भीड़बाट छुट्ट्याउँदा गाउँलेहरुले पुलिसमाथि नै हमला गरेको थियो। पुलिस सुत्रले बताए अनुसार उक्त युवक पुलिसको सोर्सको काम गर्दै आईरहेकोले तिनलाई छुट्याउन खोज्दा गाउँलेहरुले उल्टा पुलिसमाथि हातपात गरेकोले पुलिसले गाउँमा पसेर धेरै गाउँलेहरुलाई नियन्त्रणमा लिएको जनाएका छन्।