चामलिङको अभिभावकत्व भारतीय गोर्खाहरूका लागि एउटा छहारी

pkc_965

सौराज राई


दूरदर्शी व्यक्ति सही ठाउँमा पुगे जगतको कल्याण हुनसक्छ भन्ने उदाहरण हुन् पवन चामलिङ। आफ्नो २५ वर्षे रेकर्ड मुख्यमन्त्रीत्वकालमा तिनले सिक्किम र सिक्किमे जनताको निम्ति मात्र नभएर सारा भारतीय नेपालीहरूको कल्याणार्थ पनि कार्य गरेका लछेप्रै उदाहरणहरू छन्। जैविक खेतीको अवधारणालाई वैश्विकरण गर्ने चामलिङले आफ्नो भिजनद्वारा २५ वर्षमा सिक्किमलाई एउटा नयाँ उचाइँमा पुराए। एक समय सिक्किमको टुरिजमबारे विश्व मञ्चमा चर्चा गर्दा पहिला दार्जिलिङको सन्दर्भ अघि ल्याउनुपर्ने स्थिति थियो। दार्जिलिङ बुझेको विश्वलाई दार्जिलिङकै छेउमा सिक्किम छ भन्नु पर्ने अवस्था थियो त्यो समय। तर आज सिक्किमको पर्यटन एक ब्राण्डको रुपमा स्थापित भएको छ। सिक्किम पर्यटन विभागले सन् २००७-२००८ मा सबैभन्दा रमणीय गन्तव्यको लागि प्लेटिनम अवार्ड जस्तो गौरवशाली सम्मान आफ्नो नाममा स्वर्ण अक्षरले लेख्न सफल बनेको क्षणबाट चामलिङको कार्यकालमा सिक्किमको टुरिजमले कसरी फड्को मार्यो भन्ने छर्लङ्ग हुँदछ।
जहिले पनि सृजनात्मक कार्य गर्नमा अग्रसर चामलिङले २००४ मा सिक्किमको राजधानी गान्तोकमा ‘सिक्किम सम्मान सम्मिलन २००४’ आयोजना गरेर भारतलगायत नेपाल अनि विश्वका नेपाली/गोर्खा स्रष्टा, कलाकार, प्रतिभाहरूलाई सम्मानित गरेका थिए। सोही मञ्चबाट तत्कालीन मुख्यमन्त्री चामलिङले एक ऐतिहासिक घोषणा गरे। भारतीय नेपाली/गोर्खा कुनै पनि व्यक्तित्वले यदि राष्ट्रिय सम्मान/पुरस्कार पाए उसलाई सिक्किम सरकारले आजीवन मासिक भत्ता दिनेछ भन्ने उनले घोषणा गरे। चामलिङको उक्त घोषणा लगत्तै त्यसलाई कार्यान्वयन गरियो। यसबाट आजसम्म राष्ट्रिय पुरस्कार प्रापकहरू लाभान्वित भइरहेका छन्। सभ्य समाजमा विद्वान/विदुषी, सृष्टा, कलाकार, प्रतिभा तथा जाति समाजका हिरोहरूको इज्जत हुँदछ, कदर हुँदछ। यही सम्मान चामलिङले भारतीय नेपाली/गोर्खा सम्पदाहरूलाई दिने महान कार्य गरेका छन्। यस घोषणामा साहित्य अकादमी पुरस्कार, अर्जुन, द्रोणाचार्य, पद्मश्री, पद्माभुषण आदि विविध राष्ट्रिय पुरस्कार रहेका छन् भने साहित्य, कला, खेलकुद, सामाजिक कार्यलगायतका विविध विषयहरूलाई यसमा अन्तर्भुक्त गरिएको छ। भत्ताको रुपमा सिक्किम सरकारबाट वार्षिक १२ हजार भारतका कुनै पनि राज्यका राष्ट्रिय पुरस्कार प्रापकले जीवनकालभरि पाउने प्रावधान छ। यसको निम्ति राष्ट्रिय पुरस्कार प्रापकले सिक्किम सरकारको कल्चर विभागमा आवेदन गरेर फारम भर्नुपर्ने हुन्छ। कतिपय विभागीय कागजपत्र जमा दिएपछि यो भत्ता चालु हुन्छ जुन आजीवन चल्नेछ।
यसै सन्दर्भमा अकादमी पुरस्कार प्रापक धेरै सष्टाहरूसित कुराकानी भयो। कुराकानीमा आज पनि तिनीहरू चामलिङप्रति धन्यवादी छन्। कतिले त उक्त पुरस्कारको चार/पाँच वर्षको राशि जमा गरेर आफ्नो कृति समेत प्रकाशित गर्ने योजना रहेको खुलासा गरे। चामलिङ एक राजनीतिज्ञ मात्र नभई आफ्नो भाषा-साहित्यलाई मनैदेखि माया गर्ने व्यावहारिक महान व्यक्तित्व हुन्। चामलिङकै ब्रेन चाइल्ड निर्माण प्रकाशन भारतमा साहित्य अकादमीपछि दोस्रो ठूलो नेपाली प्रकाशन संस्था हो जसबाट अहिलेसम्म सयौं स्रष्टाका हजारौँ कृतिहरू प्रकाशित भइसकेका छन्।
चामलिङ भारतीय गोर्खाहरूका सान र मान यसकारणले मात्र होइनन् कि उनले आफ्नो मुख्यमन्त्रीत्वकालमा भारतीय गोर्खाहरूका सुख-दुःख बुझ्ने, सबैलाई सहयोग गर्ने र अभिभावकत्व प्रदान गर्ने प्रयास गरे। उनी यसकारण पनि हाम्रा गौरव हुन् किनभने भारतीय राजनीतिमा गोर्खाहरूले पनि दूरदर्शी, नवोन्मेषी र वैश्विक सोचका साथ नेतृत्व दिन सक्ने क्षमता राख्दछन् भन्ने सन्देश उनले भारतीय राजनीतिमा प्रवाह गरेका छन्। त्यसकारण उनको राजनीतिक कद एक राजनेताको जस्तो छ। कंग्रेसको पालामा होस् वा बीजेपीको पालामा- राज्यमा केन्द्रबाट विपक्षी राजनीतिका जोकोही नेता आउँदा पनि उनीहरूले चामलिङको कामको प्रशंसा नगरी बस्न सकेनन्। कतिपय परिस्थितिमा त राज्यका विपक्षी राजनीतिक पार्टीहरूले यस्तो मन्तव्यका कारण आफ्नै केन्द्रिय नेताहरूको राज्यमा बहिष्कार गर्ने स्थितिसमेत आयो। देशका गृहमन्त्री तथा भाजपाका कददार नेता अमित शाहले पछिल्लोपटक सिक्किममै आएर राज्यका प्रमुख नेताहरूकै अघि चामलिङलाई ‘राष्ट्रिय राजनीतिका धरोहर’ बताए। राजनीतिक विरोधिता आफ्नो ठाउँमा हुँदाहुँदै पनि राष्ट्रका कददार नेताहरूले समेत चामलिङको प्रशंसा गर्नु सिक्किमका लागि मात्र नभएर भारतभरिका गोर्खाहरूका लागि महत्त्वपूर्ण उपलब्धि हो। चामलिङको स्टेटम्यानशिपले भारतीय राजनीतिमा गोर्खा/नेपालीहरूको छबि चम्काउने काम गरेको छ भन्दा बिल्कुलै अत्युक्ति हुनेछैन। चामलिङको अभिभावकत्व त्यसकारण भारतीय गोर्खाहरूका लागि एउटा छहारी जस्तो हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement