सिलगढ़ी। सड़क मरम्मतीको माग गर्दै बारीबाशा क्षेत्रको भीआईपी रोड फेरि एकपटक अवरुद्ध भएको छ। यसपटक भारतीय जनता पार्टी पनि सड़क जाममा सामेल भएको छ। डाबग्राम फुलबारी विधानसभा क्षेत्रकी विधायिका शिखा च्याटर्जी पनि सड़क जाममा उपस्थित थिइन्। भारतीय जनता पार्टीका नेता, कार्यकर्ता र विधायकले बुधबार बिहान सडक अवरुद्ध गरी विरोध प्रदर्शन शुरु गरेका छन् भने सड़क मरम्मतीको माग गर्दै पटक पटक प्रदर्शन गरिसक्दा पनि सड़क मरम्मती नभएको उनीहरुको गुनासो छ। यहाँ बारम्बार सड़क दुर्घटना हुने गरेको र यस सड़क दुर्घटनामा परी एक विद्यार्थीको पनि मृत्यु भएको थियो। मिडियालाई सम्बोधन गर्दै विधायक शिखा च्याटर्जीले यो सडक सिलगढ़ी जलपाईगढ़ी विकास बोर्डको अधीनमा छ र सड़क मरम्मती गर्ने आश्वासन दिए पनि अहिलेसम्म सडक मरम्मती हुन नसकेको बताएकी छन्। बुधबार बिहान पनि यही सड़कमा टोटो पल्टिएपछि उनीहरुले सड़क अवरुद्ध गरी विरोध प्रदर्शन गरेका हुन्। उता, विरोधका कारण सड़कमा जाम भएको थियो भने त्यसपछि नयाँ जलपाईगढ़ी थानाको पुलिस घटनास्थलमा पुगेर स्थितिलाई सामान्य बनाएको थियो।










