दार्जिलिङ: नेपाली भाषा तक्निकीको उन्नतताका लागि डेटा सङ्ग्रह अब दार्जिलिङबाट हुँदै भारत सरकारको भाषिणी परियोजना अन्तर्गत आईआईटी मद्रासको मातहतमा शुरु गरिएको एआइ4भारत (ai4bharat) -ले देशका २२ वटा मान्यताप्राप्त भाषाहरूमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’-का निम्ति भाषिक डेटा सङ्ग्रहको काम शुरु गरिसकेको छ, जसमा नेपाली भाषा पनि एक हो। यसलाई हालै शुरु गरिएको एआइ4भारत-को निलेकानी केन्द्रद्वारा सञ्चालित गरिँदैछ। नेपाली भाषाको दोस्रो चरणको स्पिच डेटा सङ्ग्रह कालेबुङ जिल्लामा समाप्त भइसकेको छ। अब २५ सेप्टेम्बरदेखि दार्जिलिङ जिल्लामा डेटा सङ्ग्रहको काम हुने भएको छ। डिजिटल प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स अनि सामाजिक सञ्जालको बढ्दो प्रयोगकाबीच सरकारले देशका विभिन्न मान्यताप्राप्त भाषाहरू पनि समय अनुरूप आजका प्रविधिहरूसित जोड्नु पर्ने आवश्यकता महसुस गरेर यो कार्य शुरु गरेको हो।अन्तरभाषिक अनुवाद, लिप्यान्तरण, स्पिच डेटा आदि भाषिक प्रविधिसित जडित कुराहरूद्वारा विस्तारै नेपाली भाषालाई आर्टिफिसियल इन्टेलिजेन्स अनि डिजिटल माध्यमसित जोड्ने यो पहल नेपालीभाषी जनसङ्ख्याको घनत्व धेरै रहेका जिल्लाहरूमा क्रमिक रूपमा अघि बढाइने भएको छ। यसका निम्ति देशका विभिन्न स्थानहरूबाट परियोजना संयोजकहरू नियुक्त गरिएका छन् जसले लिखित एवम् कथ्य भाषाका डेटाहरू सङ्ग्रह गरिरहेका छन्। आफ्नो भाषालाई समयानुकूल अनि प्रविधिको निकट लिएर जाने यस महत्त्वपूर्ण पहलका निम्ति ai4bharat -का तर्फबाट ‘नेपाली भाषा’-का निम्ति कार्यरत संयोजकहरूले सबै नेपाली भाषीहरूलाई डेटा सङ्ग्रहमा समय अनि सहयोग दिने अपिल पनि गरेका छन्।अबका दिनहरूमा भाषा केवल कागत अथवा चलचित्रमा मात्रै सीमित रहने होइन तर इन्टरनेट, सामाजिक सञ्जाल एवम् आर्टिफिसियल इन्टेलिजेन्सको हिस्सा पनि बन्दै गएको हुँदा नेपाली भाषालाई फराकिलो अनि प्रविधिको बाटोमा हिँडाउने अभिभारा केवल सरकारको काँधमा मात्रै नरहेर प्रत्येक जाति अनि भाषाप्रेमीहरूको दायित्व बन्न जान्छ। ai4bharat -को माध्यमबाट सुरु भएको यस कार्यद्वारा अहिले देशका विभिन्न संस्थानहरूलाई पनि लाभ पुग्ने अनि पुगिरहेको भन्ने विचारहरू अघि आइरहेका छन्। यस परियोजनासम्बन्धी आधारभूत जानकारी सोझै परियोजनाको निम्न वेबसाइटबाट पनि प्राप्त गर्न सकिनेछ।

https://ai4bharat.org/ सरकारको यस भाषिणी परियोजनाबाट नेपाली जाति अनि भाषिक समूहले लाभ प्राप्त गर्न सकून् अनि यसबारे जानकारी लिन सकून् भन्ने उद्देश्यले यो विज्ञप्ति जारी गरिएको छ।