पाल्जर स्टेडियममा अन्तर चर्च फुटबल प्रतियोगिता

church_641

गान्तोकः सिक्किम इसाई खेलकूद समितिको तत्वावधानमा गान्तोकस्थित पाल्जर स्टेडियममा आजदेखि अन्तर चर्च फुटबल प्रतियोगिताको शुभारम्भ भएको छ। आजको उद्घाटन समारोहमा सिक्किम सरकारका कृषि एवं वागवानी विभागीय मन्त्री लोकनाथ नेपाल प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए साथै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए। प्रमुख अतिथिको बाहुलीद्वारा यस टुर्नामेन्टको ट्रफी अनावरण गरिए पश्चात् विभिन्न सांस्कृतिक नृत्य साथै गीतहरुद्वारा कार्यक्रमको शुभारम्भ गरियो। यस प्रतियोगितामा सिक्किमसँगै कालेबुङ अनि दार्जीलिङ लगायत ३८ दलहरुले सहभागिता जनाएका छन्।

दलमा अन्तरराष्ट्रिय साथै राष्ट्रिय स्तरका तीनजना खेलाडीहरुको पनि सहभागिता रहने जानकारी आयोजक समितिका महासचिव एन्ड्रयु छेत्रीले दिएका छन्। शरीर स्वस्थ छ भने आत्मा पनि स्वस्थ रहने हुनाले चर्चका युवाहरूलाई आत्मा साथै शरीरलाई पनि सुदृढ गर्नुपर्ने र खेलले मानिसको स्वस्थ्य जीवनमा उन्नती ल्याउँछ भन्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको उनले थप बताए। पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा मुख्य अतिथि मन्त्री लोकनाथ नेपालले आयोजक समितिलाई यस्तो प्रकारको कार्यक्रमको आयोजना गरेकोमा बधाई दिए। यस खेलले ईश्वरलाई महिमा पुग्ने साथै जनतामा भाइचारा कायम हुनेकुरा उनले बताए।

राज्यका मुख्यमन्त्रीले राज्यमा कुनै पनि जात, वर्ग र धर्म नछुटाइ यसरी विभिन्न क्षेत्रमा प्रोत्साहन गरेको कुराको सराहना गर्दै उनले सम्पूर्ण धर्मावलम्बीलाई समान प्रेम र सम्मान प्रदान गरेकोमा मुख्यमन्त्रीप्रति आभार प्रकट गरे। यस प्रकारको खेलको आयोजनाले चर्चसँग सम्बन्धित खेलाडीहरू पनि खेलप्रति प्रोत्साहित हुने साथै राम्रा खेलाडीहरु जन्माउने अवसर पाउने मन्तव्य पोखे। आजको पहिलो खेल एजी डायनामो तादोङ वनाम एचएफसी मामथाङबिचमा रोचक भिडन्त भएको थियो, जसमा १ को विरुद्ध २ गोल गरेर एजी डायनामो विजयी बन्दै अघिलो चरणमा प्रवेश गरेको छ। यसरी नै दोस्रो खेल बेथलहेम चर्च गान्तोक बनाम कोपीबारी व्याप्टिष्ट चर्चबिचमा सम्पन्न भएको थियो, जसमा १ को विरुद्ध ४ गोलले बेथलहेम चर्च विजयी बन्न सफल बन्यो।

ज्ञात रहोस्, सिक्किम इसाई फुटबल समिति सिक्किमका विभिन्न चर्चका युवाहरु मिलेर खडा गरेको समिति हो जसले वर्षैपछि यो फुटबल प्रतियोगिताको आयोजना गर्ने गर्छ। आजदेखि शुरु गरिएको खेलको फाइनल आगामी १ अक्टोबरको दिन हुनेछ। आजको यस उद्घाटन समारोहमा संयुक्त इसाई कल्याण समितिका अध्यक्ष पत्रुस गुरुङ, गान्तोक क्षेत्रका सीएलसी अध्यक्ष सञ्जीब गुरुङ लगायत विभिन्न चर्चका फादर्स, पास्टरहरूहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement