गान्तोकः नाम्ची जिल्ला कार्यालयद्वारा जिल्लामा रहेको आठवटै खण्डका तृणमूल समस्या बुझ्ने अनि ती समस्याहरूको उचित समाधान गर्ने उद्देश्यले शुरु गरिएको समन्वय कार्यक्रमको दोस्रो बैठक आज नन्दुगाउँ खण्ड प्रशासनिक केन्द्रमा सम्पन्न भयो। जिल्ला अध्यक्ष अञ्जिता राजालिमको अगुवाईमा आयोजित बैठक जिल्ला उपाध्यक्ष विकास तामाङ, नाम्ची जिल्ला पञ्चायत अधीनस्थ सबै जिल्ला पञ्चायतहरूको उपस्थिति रहेको थियो। आजको बैठकमा नन्दुगाउँ खण्डका ३ वटै ग्राम पञ्चायतका पञ्चायत सभापति, सदस्यगण अनि ३ जिल्ला पञ्चायत सदस्यहरूको उपस्थिति रहेको थियो। आजको समन्वय बैठकमा नन्दुगाउँ खण्डमा रहेका गाउँहरूमा ग्रामसभामा जवाफदेही अधिकारीहरू अनुपस्थित रहने अनि कार्यालयका तल्लो तहका अधिकारी, कर्मचारीलाई पठाउने गरेको उनीहरूले गुनासो गरे।
अबोपरान्त ग्रामसभाको समयमा यस्तो भए खण्ड विकास अधिकारीमार्फत जिल्ला अध्यक्षलाई रिपोर्ट गरिए आफू स्वयं सो ग्राम सभामा उपस्थित भएर क्षेत्रवासीको गुनासो सुन्ने जिल्ला अध्यक्ष सुश्री अञ्जिता राजालिमले कटिबद्धता व्यक्त गरिन्। जिल्ला कार्यालयबाट जिल्ला अध्यक्ष अनि उपाध्यक्षहरू स्वयं घुमेर खण्डमा समस्या बुझ्ने कार्य गरेको पहिलो पटक हो भन्ने उपस्थित पञ्चायत अनि जिल्ला पञ्चायतहरूले मन्तव्य गर्दै यस कार्यको सराहना गरेका छन्। कार्यक्रममा आगामी ६ देखि ८ अक्टोबरसम्म गान्तोकमा आयोजन गरिने पञ्चायत सम्मेलनबारे पनि जानकारी गराइयो। सो कार्यक्रमको अन्तिम दिन मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थिति रहनेछन्। आजको कार्यक्रममा जिल्ला अध्यक्ष राजालिमसँगै उपाध्यक्ष विकास तामाङ, खण्ड विकास अधिकारी लगायत सम्बन्धित अधिकारीहरू अनि स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।