गान्तोकः एशियाली पर्यटन मेला (एटीएफ) का सहभागीहरूले आज पर्यटन तथा नागरिक उड्डयन मन्त्री बीएस पन्तसँग तादोङ पाँच माइलस्थित पर्यटन भवनमा भेट गरे। एशियाली पर्यटन मेला (एटीएफ) एक असाधारण प्लेटफर्म हो, जसले एशियाली देशहरूबाट पर्यटन सम्बन्धि क्रेता र बिक्रेताहरूलाई नवीनतम उत्पादन र सेवाहरू प्रदर्शन गर्नका लागि अवसर प्रदान गर्दछ। यस वर्षको मेला आगामी २१- २३ सेप्टेम्बर, २०२३ सम्म इन्टरनेशनल कन्भेन्सन सिटी, बसुन्धरा, ढाकामा हुने तय गरिएको छ।
मेलामा सिक्किमका १८ हितधारकहरू सहभागी बन्नेछन् भने उनीहरू बुधबार ढाकाको लागि प्रस्थान गर्ने जानकारी गराइएको छ। यस अवसरमा मन्त्री पन्तले सहभागीहरूलाई शुभकामना दिँदै उक्त मेलाबाट अधिक लाभ उठाउनु पर्ने आग्रह गरेका छन्।
सोही क्रममा एसटीडीसीका अध्यक्ष लुकेन्द्र रसाइलीले आफ्नो सम्बोधनमा मुख्यमन्त्री प्रेमसिंह तामाङ र पर्यटन मन्त्रीलाई पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका लागि निरन्तर प्रतिबद्धता जनाएकामा धन्यवाद जनाए। उनले यस प्रदर्शनी मार्फत अन्य देश, स्थान र क्षेत्रका मानिसहरुबीच सम्पर्क स्थापित गर्ने अवसर प्राप्त हुने जानकारी गराए।