१९ सेप्टेम्बरः एशियन गेम्सको आयोजन चीनको हांगझोऊ शहरमा भइरहेको छ। यस प्रतियोगिताको शुरुवात आधिकारिक रूपमा २३ सेप्टेम्बरदेखि हुने अनि ८ अक्टोबरसम्म चल्नेछ। यसबीच फूटबल, भलिबल, टेबल टेनिस र क्रिकेटसहित केही खेलहरू चाहिँ आधिकारिक शुरुवातको तारिखभन्दा अघि नै शुरु हुनेछ। इभेण्टहरूको प्रसारण लाइभ स्ट्रीमिंगको माध्यमले टेलिभिजन र मोबाइल ऐपमा हेर्न सकिनेछ। भारतीय एथलीटहरूले एशियन गेम्स २०२३-मा ३९ वटा खेलमा पदकको निम्ति प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिताको १९औं संस्करणको आयोजन पहिला २०२२-मा हुनु थियो तर कोरोना महामारीले गर्दा यसलाई एक सालको निम्ति स्थगित गरिएको थियो। एशियन गेम्स २०२३-मा ४० वटा खेलहरूमा ४८१ वटा प्रतियोगिता हुनेछ, जसमा ४५ वटा देशका प्रतियोगीहरूले हिस्सा लिनेछन्।
भारतको ६५५ सदस्यीय दलमा एथलेटिक्सका ६८ जना सदस्य छन्। यसमा ३५ जना पुरुष र ३३ जना महिलाहरू छन्। भारतको क्रिकेट टीमहरू पहिलोपल्ट यस प्रतियोगिताको हिस्सा बनेको छ। पुरुष क्रिकेट टीमको कप्तानी रुतुराज गायकवाड़ र महिला क्रिकेट टीमको कप्तानी हरमनप्रीत कौरले गर्नेछन्। ओलम्पिक पदक विजेताहरूमा भारोत्तोलनमा मीराबाई चानू, बक्सिंगमा लवलीना बोरगोहेन र पहलवान बजरंग पूनियाले हांगझोऊमा पदकको निम्ति चुनौती पेश गर्नेछन्। यसपाली भारतको लक्ष्य पदक तालिकामा १००-को आँकड़ालाई पार गर्नु हुनेछ। १९औं एशियन गेम्समा पेरिसमा आउँदो साल हुने ओलम्पिकको निम्ति ७४ वटा कोटा पनि प्रदान गरिनेछ। यसमा ६ वटा धनु-काँड़मा, १० वटा पौड़ीमा, ३४ वटा बक्सिंगमा, दुईवटा ब्रेकिंगमा, दुईवटा हकीमा, १० वटा पेण्टाथलनमा, ६ वटा नौकायनमा, दुईवटा टेनिसमा अनि दुईवटा वाटर पोलो खेलमा दिइनेछ। भारतमा एशियन गेम्स २०२३-को सीधा प्रसारण १९ सेप्टेम्बरदेखि शुरु हुनेछ। भारतमा एशियाई खेलहरूको प्रसारण सोनी स्पोर्ट्स नेटवर्कमा हुनेछ।