गान्तोकः राज्यका धर्म विभाग साथै ग्रामीण प्रबन्धन विकास विभाग मन्त्री सोनम लामाले पिउने पानी अनि स्वच्छता विभाग केन्द्रिय सचिव विनि महाजनसँग नयाँ दिल्लीस्थित उनको कार्यालयमा भेट गरे। भेटको क्रममा विशेष गरेर केन्द्र सरकारद्वारा शुरू गरिएको विभिन्न योजनाहरू सिक्किमले कार्यान्वयन गरेको साथै प्रगतिबारेमा छलफल गरे।
यस अवसरमा केन्द्रिय सचिवले केन्द्र सरकारद्वारा शुरू गरिएको सबै योजनाहरू समयमा पूरा गर्नुपर्ने आग्रह गर्दै जल जीवन मिशन, पन्ध्रौं वित्त आयोग, स्वच्छ भारत मिशन र प्लास्टिक फोहोर मुक्त राज्य जस्ता योजनाहरू शुरू गर्नुपर्ने विषयमा जोड दिइन्।
उनले प्लास्टिकमुक्त राज्य हासिल गर्ने र स्थानीय तहमा फोहोर मैला व्यवस्थापनलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने विषयमा आफ्नो स्पष्ट धारणा राखिन्। भेटको क्रममा मन्त्री लामासँग विभागका सचिव छेवाङ ग्याछो पनि सामेल रहेका थिए।